देश

शेरधन र लालबाबु जसले साढे तीन वर्ष बितिसक्दा पनि प्रदेशको नामाकरण र राजधानी तोक्न सकेनन्

काठमाडौं । ०७२ असोज ३ गते नयाँ संविधान जारी भएसँगै देश संघीयतामा गएको हो । ०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको पनि साढे तीनदेखि चार वर्ष पुग्न थालेको छ ।

देशमा अहिले सात सय ५३ स्थानीय सरकार, सात प्रदेश सरकार र एक संघीय गरी ७६१ सरकार छन् । सात प्रदेशमध्ये चारवटामा एमाले, दुईमा माओवादी केन्द्र र एकमा जसपाको सरकार छ । तर, प्रदेश १, २ र बागमतीबाहेक चारवटै प्रदेश सरकार संकटमा परेका छन् । कुनबेला कसको सरकार गिर्ने र बन्ने हो भन्ने पत्तो छैन ।

अहिलेसम्म सातवटै मुख्यमन्त्रीले आफूहरूले सफल भएको दाबी गरिरहेका छन् । यसमा लुम्बिनी प्रदेशका शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ अगाडि छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूले धेरै काम गर्दै आएको बताउँदै आएका छन् । कर्णाली प्रदेशका महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्टको दाबी पनि उस्तै छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि आफ्नो सरकार धेरै सफल भएको दाबी गरिरहेका छन् । तर, बाँकी पाँच प्रदेशका मुख्यमन्त्रीका अगाडि राई र राउत भने फ्लप सावित भएका छन् ।

अन्य पाँच प्रदेशले कम्तीमा प्रदेशको राजधानी र नाम राख्न सफल भएका छन् । तर, प्रदेश १ र प्रदेश २ ले अहिलेसम्म राजधानी र प्रदेशको नामाकरणसमेत गर्न सकेका छैनन् । राई एमाले र राउत जसपाका मुख्यमन्त्री हुन् । राईलाई राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओलीको आशीर्वाद छ । राउतलाई भने उपेन्द्र यादवको विशेष कृपा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *