समाचार

असारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्ने प्रक्षेपण

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ । केही अघिसम्म नेपालमा मृत्युदर शून्यमा झरेको थियो । तर, एकैदिन १३ जनाको मृत्यु हुनु र दैनिक संक्रमण पाँच सय नाघेपछि नेपालमा कोरोनाको दोस्रो लहर सुरु भएको चिकित्सकहरूले अनुमान गरेका छन् ।

यसैक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै अनुपातमा कोरोना संक्रमण बढेमा आगामी असारसम्म नेपालमा संक्रमितको संख्या ६ लाख नाघ्ने प्रक्षेपण गरेको छ । मंगलबार मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दैनिक ११ हजारसम्म संक्रमित थपिने बताउँदै आगामी असारसम्म ६ लाख संक्रमित पुग्ने अवस्था आउने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी दिए ।

भारतमा तीब्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजारजना बस्न सक्ने होल्डिङ सेन्टर बनाइने, सीमामा सम्पूर्ण तयारी गरेर अस्पताललाई चुस्तदुरुस्त राख्ने काम सरकारले अगाडि बढाएको बताए ।

तत्काल नाका बन्द नहुने बताउँदै मन्त्री त्रिपाठीले बाहिरबाट आउनेलाई जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिने जानकारी दिए । उनले अहिलेको कोरोनाको युके भेरियन्ट पहिलेको भन्दा बढी संक्रामक रहेको पनि बताए ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भएसँगै यसको जोखिमलाई हेर्दै सरकारले विभिन्न मापदण्ड लागू गर्न लागेको छ । यसअघि कोरनाको जोखिम उच्च भएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्समक्ष तीन साता विद्यालय बन्द गर्नेलगायतका प्रस्ताव गरेको थियो । प्रस्तावमा छलफल गर्न हिजो मन्त्रीपरिषद् बैठक पनि बसेको थियो । तर बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको थियो । केही दिनको अवस्था हेरेर मात्र यससम्बन्धी निर्णय गर्ने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *