समाचार

३४ सांसद भएको जसपाले ओलीको विकल्प दिने

काठमाडौं । नेपालको राजनीतिबारे भविष्यवाणी गर्न निकै कठिन हुन्छ । झन्डै दुई तिहाइ बहुमत पाएका प्रधानमन्त्री केपी ओली अहिले आफैं अल्पमतमा परेका छन् । स्थिर सरकार दिन्छु भनेर भोट मागेका ओली पनि अक्षम देखिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विस्थापित गरी नयाँ सरकार बनाउन छलफल चलाइरहेका बेला संसदको चौथो ठूलो दल जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सहमति गरेको छ । जसपासँग ३४ सांसद छन् ।

जसपाको दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको हो। जसपाका पाँचजना पदाधिकारीमा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर, अर्का अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु राजेन्द्र महतो र अशोक राई छन्। तर, बाबुराम र महन्थमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंगो लागेको छैन।

प्रधानमन्त्री केपी ओलीले जसपा नेपालको माग पूरा गर्ने प्रकृया सुरु गरिसकेका हुनाले तत्कालै त्यसको विरुद्ध कुनै पनि क्रियाकलाप नगर्ने महन्थ र वरिष्ठ नेता राजेन्द्र महतोले तर्क गरेका थिए । ओलीले माग पूरा गरे पनि उनको बहिर्गमनका लागि जसपाले पहल गर्नुपर्ने उपेन्द्र र बाबुरामको तर्क थियो।

जसपाको नेतृत्वमा सरकार गठन गर्नका लागि सहयोग गर्न दलहरुलाई आह्वान गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए। नेपाली कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नसकेकाले त्यसको अगुवाइ जसपाले गर्ने र त्यसका लागि अन्य दलसँग सहयोग माग्ने उपेन्द्र र बाबुराम पक्षको प्रस्ताव थियो।

तर, महन्थ ठाकुरले जसपालाई एमाले, कांग्रेस र माओवादी केन्द्रले पनि सहयोग गर्न सक्ने दाबी गरेका थिए । आफ्नै नेतृत्वमा सरकार बनाउने महन्थको प्रस्तावमा दुवै पक्ष सहमत भएको र नयाँ वर्ष मनाएपछि पुनः बैठक बसेर टुंगो लगाउने सहमति भएको स्रोतको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *