मुख्य समाचार

कोरोना संक्रमितलाई मात्र भर्ना लिने शुक्रराज ट्रपिकल अस्पतालको निर्णय

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आज बाट कोरोना संक्रमित बिरामीलाई मात्र भर्ना लिने निर्णय गरेको छ। कोरोना संक्रमित बिरामीको चाप बढ्न थालेपछि अस्पतालले अन्य सरुवा रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो।

कोरोना संक्रमितको व्यवस्थापन गर्न अन्य बिरामीलाई भर्ना नलिने निर्णय गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

‘कोरोना संक्रमित बढेकाले हामीले इन्डोर सर्भिस कोभिडको मात्र सञ्‍चालन गर्ने निर्णय गरेका हौं,’ अस्पतालका निर्देशक डा सागर राज भण्डारीलेभने, ‘संक्रमित बढिरहेका छन्, अन्य बिरामीलाई भर्ना गर्दा उनीहरूमा पनि संक्रमण सर्ने जोखिम हुन्छ। त्यसैले कोभिडबाहेकका बिरामीलाई भर्ना नगर्ने निर्णय गरेका छौं।’

अन्य सरुवा रोगका बिरामी भर्ना हुनैपर्ने अवस्थामा आए उनीहरूलाई वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने अस्पतालले जानकारी दिएको छ ।
कोरोना संक्रमितको चाप बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले नै शुक्रराज अस्पताललाई कोरोना संक्रमितलाई मात्र भर्ना गरेर उपचार तथा व्यवस्थापन गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनअनुसार अस्पतालले आजदेखि कोरोना संक्रमितलाई भर्ना लिएर उपचार सेवा दिन थालेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *