समाचार

वर्ष २०७७ निरर्थक भएन- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन् ।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए ।

सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने बताउदै उनले भने, ‘नेपाली र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ ।’

उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलीरहेको बताउदै संसद अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नु पर्ने अध्यादेशसमेत संसदमा प्रस्तुत गर्न नदिइएर अप्रिय स्थिति सिर्जना गरिएको बताए ।

प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न अपिल गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारले सकेसम्म लकडाउनमा जानु नपरोस् भन्ने चाहेको बताए । तर महामारी हृवात्तै बढेपछि विकसित देशहरुले पनि बाध्य भएर लकडाउन गर्नु परेको स्मरण गर्दै उनले भने, अहिले नै सतर्कताबाट परिस्थितिलाई बिग्रिन नदिऊँ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *