सम्पादकीय

नयाँ वर्षमा नयाँ अपेक्षा

२०७७ ले बिदा लिएको छ । बुधबार सूर्योदयसँगै २०७८ को आगमन भएको छ । बितेको वर्ष नेपाली मात्र होइन, संसारकै लागि निकै कष्टकर रह्यो । कोरोना भाइरस महामारीले सम्पूर्ण जगतले नै कष्ट भोग्दै आउनु परेको छ । यो भाइरसबाट संसारभर झन्डै ३० लाख मानिसले ज्यान गुमाएका छन् । नेपालमा पनि मृत्यु हुनेको संख्या मंगलबारसम्म तीन हजार ५८ पुगेको छ । कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन भएर लगाए पनि त्यसको असर अझै धेरै देखिन सकेको छैन । विश्वभर १३ करोड मानिस कोरोना भाइरसबाट संक्रमित बन्नुले यसको पुष्टि गर्छ ।

विश्वमा भएका आर्थिक र राजनीतिक गतिविधिलाई कोरोना महामारीले छायाँमा पारेको छ । एक से एक विकासशील मुलुकले कोरोनाको अगाडि घुँडा टेकेका छन् । सामाजिक संरचना ध्वस्त बनेको छ । कैयौं देशमा कोरोना भाइरसको तेस्रो र चौथो लहर सुरु भएको छ । चैत अन्तिम सातादेखि नेपालमा पनि कोरोनाको दोस्रो लहर सुरु भएको अनुमान गरिएको छ । दैनिक रूपमा बढ्दो संक्रमण र मृत्युदरले पनि त्यसको पुष्टि गर्छ ।

कोरोना भाइरसले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन, शिक्षा, स्वास्थ्य सबैलाई ध्वस्त बनाएकै थियो, तर त्योभन्दा पनि राजनीतिक अस्थिरताले नेपालीमा धेरै चोट पुगेको छ । यसको प्रमुख कारणमा सत्तारुढ दल एमाले र माओवादी केन्द्र प्रमुख जिम्मेवार छन् । कोरोनाका कारण सिर्जित लकडाउनमा पनि साविक नेकपा अहिलेको एमाले सरकारमा बस्नेले तमासा देखाउन छाडेनन् । सम्पूर्ण नेपाली घरमै थुनिएर बसेका बेला कम्युनिस्ट नेताहरू कुर्सीको लोभमा झगडामा व्यस्त रहे । जसले नेपाली जनतालाई झन् धेरै निराशा बनायो ।

अहिलेको नेपालको राजनीति दुषित बन्नुमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतमलगायतका पात्र धेरै जिम्मेवार छन् । जनतासँग स्थिर सरकारका लागि भन्दै दुई तिहाइको भोट मागेर सरकारमा पुगे पनि ओलीले त्यो प्रतिबद्धता पूरा गर्न सकेनन् । कतिसम्म भने उनी सबै राजनीतिक दल र नेतासँग एक्लिँदै गएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय गरेर ओलीले आफ्नो राजनीतिक भविष्य धरापमा मात्र पारेनन्, संविधानकै धज्जी उडाए ।

देशको गलत राजनीतिले सबै क्षेत्रमा प्रभाव परेको छ । कोरोनाले अर्थतन्त्र डामाडोल बन्दै जाँदा त्यसको क्षति रोक्न वर्तमान सरकार असफल रह्यो । भ्रष्टाचार, कुशासनमा भने ओली सरकार सफल रह्यो । त्यसैले अहिले जनता ओली सरकारलाई विस्थापित गर्दै जनमतका माध्यमबाट नयाँ सरकार बनाउनुपर्ने पक्षमा उभिएका छन् । नयाँ वर्षमा जनताको नयाँ सरकार बन्न सकोस् । शुभकामना !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट