देश

एमसीसी अघि बढाउन ओली र देउवाको प्रयास, सभामुख बाधक भएको आरोप

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पुनः संसदमा अघि बढाउने प्रयास सुरु भएको छ । प्रधानमन्त्री केपी ओली जसरी पनि प्रतिनिधिसभाको यही अधिवेशनमा एमसीसी सम्झौता टुंगो लगाउने पक्षमा छन् । यसका लागि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लबिङ गरेका छन् ।

एमसीसीबारे प्रधानमन्त्री ओली र देउवाको मत मिलेको छ । देउवाले यो सम्झौता संसदबाट अनुमोदन गराउन माओवादी केन्द्र र जसपालगायतका दलहरुसँग लबिङ थालेका छन् ।

देउवाले मंगलबार जसपा अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसँगको भेटमा सत्ता समीकरणसँगै एमसीसीको विषय पनि उठाएका थिए । मंगलबा् नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा पनि देउवाले एमसीसीलाई टुंगो लगाउनुपर्ने भन्दै समर्थन लिने कोसिस गरेका थिए ।

संसदको विधेयक शाखामा २०७६ असार ३० मा दर्ता एमसीसी सम्झौता तत्कालीन सत्तारुढ दल नेकपाको आन्तरिक किचलोका कारण अड्किएको थियो । अहिलेसम्म उक्त सम्झौताबारे संसदमा प्रक्रिया अघि बढ्न सकेको छैन ।

सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि नबढाएको प्रधानमन्त्री ओलीको आरोप छ । उनले पटकपटक यो विषय सार्वजनिक गर्दै आएका छन् । पूर्वसभामुख कृष्णबहादुर महराकै पालामा अड्किएको एमसीसी अनुमोदन प्रक्रिया अघि बढेमा माओवादी केन्द्रसँग सत्ता समीकरण हुन सक्ने संकेत कांग्रेस सभापति देउवाले दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *