समाचार

कोरोना संक्रमणबाट पर्सा, मोरङ र बाँकेमा तीनको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पर्सा, मोरङ र बाँकेमा तीनजनाको मृत्यु भएको छ । दुईजनाको बिहीबार (आज) र एकजनाको बुधबार राति मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको हो। ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन्। सोही दिन गरिएको पीसीआर परीक्षणमा कोभिड संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले बताए। नारायणी अस्पतालमा उपचाररत महिलाको बिहिवार बिहान सवा आठ बजे मृत्यु भएको उनले बताए।

मोरङ र बाँकेमा कोरोना संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–४ बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे चार बजेतिर मृत्यु भएको हो।

कोरोनाबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट