विश्व

भारतमा कोरोना संक्रमण १० दिनमै दोब्बर, एकै दिनमा २ लाख भन्दा बढी संक्रमित

काठमाडौँ — भारतमा १ दिनमा २ लाख ७ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो ।

स्वास्थ्य मापदण्डबिना कुम्भ मेलामा लाखौं सहभागी भएपछि पछिल्लो पटक हरिद्वारमा कोरोना संक्रमण तीव्र भएको भारतीय अन्तराष्ट्रिय सञ्चार माध्याम रोयटर्सले जनाएको छ ।

भारतमा अप्रिल ५ यता हरेक दिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको थियो । अप्रिल ५ मा भारतमा करिब १ लाख ३ हजारलाई संक्रमण पुष्टि भएकोमा बुधबार भने त्यसको दोब्बर संख्यालाई कोरोना देखिएको हो । भारतमा कोरोना भाइरसको दैनिक संक्रमण १० दिनमै दोब्बर भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप १ हजार ३८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४० लाख ७४ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २४ लाखभन्दा बढी निको भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *