समाचार

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बालाई कांग्रेसका कृष्णचन्द्र पोखरेलले विस्थापित गर्ने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई केही दिनअघि माओवादी केन्द्र र बुधबार राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने घोषणा गरेपछि सरकार स्पष्ट रूपमा अल्पमतमा परेको छ ।

मुख्यमन्त्री गुरुङविरु आजै अविश्वास प्रस्ताव दर्ता हुने छ । अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । कांग्रेससित १५, माओवादीसित १२, जनमोर्चासित ३ र जसपासित २ सांसद गण्डकी प्रदेश सभामा छन् । गुरुङको विपक्षमा ३१ सांसद छन् ।

गण्डकी प्रदेशमा जसपाका सांसदहरू हरिशरण आचार्य र धनमाया पोख्रेल लामा दुबैजना डा. बाबुराम भट्टराईनिकट मानिन्छन् । केन्द्रमा महन्थ ठाकुर र राजेन्द्र महतोहरू प्रधानमन्त्री केपी ओलीसँग नजिकिए पनि गण्डकीमा ठीक विपरित अवस्था देखिएको छ ।

जनमोर्चाको तीन सांसद र जसपाका दुईजनाले समेत अविश्वासको पक्षमा मतदान गर्ने भएपछि गुरुङ नेतृत्वको प्रदेश सरकार संकटमा पर्ने निश्चित भएको हो ।

कुनै चमत्कार भएन भने अबको दुई साताभित्र मुख्यमन्त्री गुरुङलाई नेपाली कांग्रसका कृष्णचन्द्र पोखरेलले विस्थापन गर्ने प्रबल सम्भावना छ । नेकपा विभाजनका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा परेपछि कांग्रेसका पोखरेल मुख्यमन्त्री बन्ने सम्भावना बढेर गएको छ । कांग्रेस, माओवादी, जसपा र जनमोर्चा एक ठाउँमा उभिएपछि एमाले सरकार ढल्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *