देश

निफमा तीनवटा नेपाली चलचित्रले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तीनवटा नेपाली चलचित्रले भाग लिने भएका छन् ।
आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले महोत्सवका लागि नेपाली चलचित्र लाटोकोसेरो, सरिता ११बर्ष र आमा खान्डो फिचर फिल्म प्रतिस्पर्धाका लागि छानिएको बताए ।

महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट चार सय ५० चलचित्र प्राप्त भएका छन् । आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरुमध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाका लागि पहिले नै छनोट गरिएको थियो । नेपाली प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म छनोट गर्न बाँकी राखिएको थियो भने अब निफमा ६६फिल्म देखाइनेछन्।

नेपाली फिचर फिल्म प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट चलचित्रले एक लाख नगद पुरस्कारसहितको ट्रफी, उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्री ट्रफी पाउनेछन्।

‘विश्वका कथाहरुको उत्सब’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने आयोजकको भनाइ छ।

कोभिडले पारेको प्रभावमा बनेका यस्ता फिल्मले पाँच सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्।अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ।

यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघुचलचित्रलाई पाँच सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ। महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौंमा आयोजना हुनेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट