देश

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र प्रस्तावित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेस र जसपाका सांसदको हस्ताक्षरसहित प्रदेश गण्डकी प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेश सभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम अविश्वासको प्रस्ताव दर्ता गर्दै नयाँ मुख्यमन्त्री पदमा कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

अविश्वास प्रस्तावमा २८ जना सांसदले हस्ताक्षर गरेको बुझिएको छ । गण्डकी प्रदेश सभा ६० सदस्यीय छ । मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ सांसद मात्र छन् । त्यसैले उनी स्पष्ट अल्पमतमा परेका छन् । कांग्रेस, माओवादी केन्द्र, राजमो र जसपाबीच गठबन्धन बन्दैछ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि मुख्यमन्त्री गुरुङले बुधबार राति नै प्रदेश सभाको चालू अधिवेशन अन्त्य गराइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *