समाचार

बागलुङका ३० वनमा आगलागी

    
 
बागलुङ । बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । पछिल्लो समय विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।    
    
जिल्ला डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ३३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । ढोरपाटन शिकार आरक्षका बुँकी क्षेत्र, गलकोटको घुम्टे, रेश सिगानाको बुछुङ सल्लेरी सामुदायिक वन, मालिका सामुदायिक वनसहितमा आगलागी भएको सो कार्यालयका सहायक वनअधिकृत मदन कँडेलले जानकारी दिए । लामो समयको खडेरी र मानवीय लापरवाहीका कारण वर्षेनी आगलागीका घटना हुने गरेको उनको भनाइ छ ।    
    
जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा, गलकोट र बरेङ गाउँपालिकाको जङ्गलमा आगलागी भएको सहायक वनअधिकृत कँडेलले बताए । “लामो समयदेखि खडेरी परेको छ, खेडरीले गर्दा सबै पातपतिङ्गर र काठजन्य वस्तु सुकेका हुन्छन्, थोरै सर्तकता नअपनाउँदा आगलागी भइहाल्छ, यस्तो समयमा निकै संयमता अपनाउनुपर्छ”, उनले भने , “स्थानीयवासी सचेत नभएसम्म आगलागीका घटना भइरहन्छ ।”    
    
नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । बागलुङमा अन्य कारणभन्दा मानवीय लापरवाहीका कारणले गर्दा आगलागीका घटना हुने गरेको सहायक वन अधिकृत कँडेलले बताए  । आगलागीको घटना न्यूनीकरणका लागि कार्यालयले समुदायमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । चालू आर्थिक वर्षको हालसम्म आगलागीबाट रु एक करोड ८७ लाख ६३ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।    
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकबाल हवारीका अनुसार आठ महिनाका अवधिमा आगलागीमा परी तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।    

  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *