शिक्षा / स्वास्थ्य

कोरोनाबाट अति प्रभावितको सुचिमा १४ जिल्ला

काठमाडौ । स्वास्थ्य मन्त्रालयले संक्रमणको बढि जोखिम रहेका १४ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरि बढी भिडभाड हुने क्षेत्रमा सहभागी नहुन आग्रह गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित ती जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावितमा जिल्लामा राखेको छ ।

यस क्षेत्रमा विद्यालय, जात्रा, सभा सम्मेलन र सपिङ मलहरु बन्द गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा ती जिल्लाका रेष्टुरेन्ट, क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा, जात्राहरु, सभा, सम्मेलन बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुलमा सहभागि नभैदिनको लागि आग्रह गरिएको छ ।

मन्त्रालयमा शुक्रबार बसेको सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कोभिड-१९ संक्रमणबाट जोगिन संवेदनशिल बन्न आग्रह गर्दै जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्न भनेको छ ।

साथै होटलमा बसोबास गर्ने पाहुनाहरु र विदेशी नागरिकहरुको सूचि तयार गर्न भनिएको छ । नियमितरुपमा अस्पतालमा आइरहेका सेवाग्राहीलाई कोभिड-१९ संक्रमण पुष्टि भएमा मात्रै अन्य अस्पतालमा पठाउन भनिएको छ ।

सबै सरकारी अस्पताललाई कोभिड–१९ संक्रमितलाई व्यवस्थापन गर्न तोकिएअनुसार निःशुल्क सेवा प्रवाह गर्नको लागि आग्रह गरिएको छ । नीजि प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि तोकिएको शुल्क अनुसार उपचार गर्न भनिएको छ ।

साथै, बालबालिका, गर्भवती, सुत्केरी महिला, अपांगता भएका व्यक्तिहरु, ज्येष्ठ नागरिकहरुको लागि उपचारमा प्राथमिकता दिन समेत बैठकले आग्रह गरेको छ ।

यी हुन् कोभिड—१९ बाट अति प्रभावित जिल्लाहरु

मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।

कोरोना संक्रमण दर तीव्रगतिमा बढेपनि मन्त्रालयले सम्पूर्ण अस्पतालहरुलाई फिवर क्लिनिक सञ्चालन र कोरोना परीक्षणका लागि नमूना संकलन गर्न निर्देशन समेत दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *