खेलकुद

ओलम्पिक खेल रद्द गर्न जापानी सत्तारुढ दलका नेताको आग्रह

जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का दुई प्रभावशाली नेताहरुले टोकियो ओलम्पिकका बारेमा पूरै आयोजना परिवर्तित हुन सक्ने बताएका छन् ।

तीमध्ये एक सदस्यले ओलम्पिक खेल नै रद्द गर्नुपर्ने सुझाव दिएका छन् भने अर्का सदस्यले खेल स्थलमा दर्शकलाई पूरै प्रतिबन्ध लगाउनु पर्ने बताएका छन् ।

एलडिपीका महासचिव एवं पार्टीभित्र दोस्रो श्रेणीका नेता तोशिहिरो निकाईले कोभिडको सङ्क्रमण फैलिने क्रम बढेकाले टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बताएका छन् । टोकियो ओलम्पिक खेल हुन बुधबार सय दिन बाँकी रहँदा निकाईको यस्तो भनाई सार्वजनिक भएको हो ।

जापानको टीबीएस टिभीलाई दिएको अन्तर्वार्तामा निकाईले खेल आयोजनामा समस्या देखिए यसलाई रद्द गर्नुको विकल्प नरहेको बताएका छन् । ओलम्पिककै कारण कोभिड सङ्क्रमण फैलिने अवस्था देखिए ओलम्पिक आयोजनाको गर्नुको केही अर्थ रहँदैन, उनले भने ।

के खेल पूरै रद्द हुने सम्भावना छ भनी सोधिएको प्रश्नमा महासचिव निकाइले भन्नुभयो, “यो सम्भव छ ।”

उनले भने, “जापानमा ओलम्पिक खेल सफलतापूर्वक सम्पन्न हुनु जरुरी छ । यो जापानका लागि ठूलो अवसर पनि हो । म पनि यो सफल होस् भन्ने चाहन्छु । हामीले धेरै विषयलाई सुल्झाउनु र त्यसको तयारी गर्नु जरुरी छ, र हरेक खेलाडी तथा पदाधिकारीको विशेष हेरबिचार गर्नुपर्ने चुनौती छ ।”

टोकियो ओलम्पिक आयोजकको भनाईमा आगामी ओलम्पिक खेल सफलतापूर्वक आयोजना गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र इन्टरनेसनल पाराओलम्पिक कमिटी पूर्ण रुपमा प्रतिबद्ध रहेका छन् । उनीहरुले प्रधानमन्त्री योशिहिदे सुगाले ओलम्पिक खेल आयोजना गर्न जापान प्रतिबद्ध रहेको पटकपटक बताएको जनाएका छन् ।

जापानमा पछिल्लो पटक कोभिड सङ्क्रमण तिब्र गतिमा फैलिएको छ । बुधबार मात्र जापानको दोस्रो ठूलो शहर ओशाकामा एक हजार सय भन्दा बढी नयाँ रोगी भेटिएका थिए । यो गत जनवरी यताकै सबैभन्दा ठूलो संख्या हो ।

जापानमा कोभिडको सङ्क्रमणबाट हालसम्म ९ हजार ५०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।

जापानमा खोप अभियानको नेतृत्व गरिरहनु भएका मन्त्री तारो कोनोले टोकियो ओलम्पिक हुने अवस्था सिर्जना भएपनि खेल मैदानमा कुनै पनि दर्शक नहुने स्पष्ट गर्नुभयो । उहाँले ओलम्पिक खेलहरु खाली रङ्गशालामा खेलाइने बताउनुभयो ।

गत वर्ष पनि कोभिडको सङ्क्रमण तिब्र भएको भन्दै ओलम्पिक खेल तालिका एक वर्ष सारिएको थियो । यस वर्ष जुलाई २३ मा टोकियो ओलम्पिक शुरु हुनेछ । साथै पाराओलम्पिक अगष्ट २४ बाट हुनेछ ।

दुबै ओलम्पिकका खेल हेर्न जापान आउन चाहने विदेशी व्यक्तिलाई जापान आउन प्रतिबन्ध लगाइसकिएको छ । अब जापानी नागरिकले पनि खेल मैदानमा प्रवेश पाउने छैनन् ।

आयोजकहरुले टिकट बिक्रीबाट झण्डै ८० करोड अमेरिकी डलर आर्जन गर्ने अनुमान गरेका थिए । यो कूल आयको झण्डै तेस्रो ठूलो रकम हो । ओलम्पिक आयोजनाको कूल लागत करिब १५.४ अर्ब अमेरिकी डलर रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *