समाचार

बीजेपी सांसद सिंहलाई काठमाडौंमा सुटुक्क भेटेपछि महन्थ र ओलीले थाले सत्ता सहकार्यको छलफल

काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय प्रभाव निकै बढेको छ । केही समयअघिसम्म चीनले खुला रूपमा नेपालको राजनीतिमा हात हालेको थियो । तर, गत कात्तिक ५ गते भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा मध्यरात गोप्य वार्ता गरेपछि नेपालको राजनीतिको सिनारियो नै फैरिएको छ । अहिले चीन पछि हटेको छ भने भारतको हस्तक्षेप र प्रभाव बढेको छ ।

यसबीचमा भारतबाट औपचारिक र अनौपचारिक रूपमा धेरै प्रतिनिधि नेपाल आए र महत्वपूर्ण भेटघाट गरेर फर्के । अहिले भारतको संस्थापन पक्षसँग प्रधानमन्त्री ओली नरम हुनुको कारण त्यसैलाई मानिएको छ ।

प्रधानमन्त्री ओलीले चालेका हरेक कदमविरुद्ध मधेस केन्द्रित दल जसपाका नेताहरूले समर्थन गर्नुको कारण पनि दिल्ली दबाब भएको बताइन्छ । त्यही भएर अहिले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीसँग सत्ता सहकार्यको प्रयासमा लागेका छन् ।
यसैबीच, भारतीय जनता पार्टीका सांसद काठमाडौं आएर महन्थ ठाकुरसँग सुटुक्क भेटेर नयाँ दिल्ली फर्केका छन् । घोडेजात्राको दिन काठमाडौंमा उत्रिएका उत्तर प्रदेश, कानपुरका बीजेपी सांसद देवेन्द्र सिंह भोलेले ठाकुरलाई आफू बसेको र्याडिसन होटेलमा करिब एक घन्टा भेटेका थिए ।

गत आइतबार दिउँसो एअर इण्डियाको उडानबाट नेपाल आएका सिंहले ठाकुरसँग मंगलबार बिहान सवा ११ देखि झण्डै १२ बजेसम्म भेटेर कुराकानी गरेका थिए । ठाकुरसँगको भेटलगत्तै भोले सवा १ बजे होटलबाट निस्केर सोझै विमानस्थल गएको बताइन्छ ।

भोले र ठाकुरबीचको वार्तामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बुझिएको छ । त्यही भेटको प्रभावअनुसार बिहीबार जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री केपी ओलीबीच बालुवाटारमा सत्ता सहकार्यको प्रयासअनुरुप वार्ता भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *