देश

काठमाडौं महानगरपालिकाको निर्णय : स्कुलमा कसैलाई कोरोना भए एक साता बन्द गर्नू

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमणका आधारमा १४ जिल्लालाई उच्च जोखिममा राखेको छ । जसमा काठमाडौं, ललितपुर र भक्तपुर पनि पर्छन् ।

मन्त्रालयले अत्यधिक भिडभाड हुने ठाउँमा नजान अपिल गरेको छ । धेरै भिडभाड हुने ठाउँ विद्यालय पनि हो । त्यसैले मन्त्रालयले विद्यालयमा आफ्ना सन्तान नपठाउन अभिभावकलाई अपिल गरेको छ ।

तर, स्वास्थ्य मन्त्रालयको सो अपिल आएको भोलिपल्टै काठमाडौं महानगरपालिकाले स्वास्थ्य मापदण्ड पूरा गरी स्कुल सञ्चालन गर्न निर्देशन दिएको छ । महनगरपालिसकाले शुक्रबार बिहान विज्ञप्ति जारी गरी स्कुलमा कसैलाई कोरोना संक्रमण देखिएमा एक साता बन्द गर्न भनेको छ । महानगरको यो निर्णयले स्वास्थ्य मन्त्रालयको अपिल खारेज गरेको छ ।

महानगरपालिकाका सबै विद्यालयलाई पत्र लेख्दै कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाईएका अर्को सूचना नभएसम्म कम्तीमा एकहप्ता स्कूल बन्द गर्न अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिकाका प्रमुखको निर्णय अनुसार यस्तो अनुरोध गरिएको हो। यस्तो बेला बैकल्पिक माध्यमबाट शिक्षण सिकाई गर्न गराउन र त्यस्तो अवस्था नभएमा सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसंग हात धुने र स्यानिटाईजर प्रयोग गरी अभिभावकहरुसमेतको सहमतिमा स्कूल सञ्चालन गर्न अनुरोध गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *