देश

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय, स्वास्थ्य मन्त्रालयको अपिल अलपत्र

काठमाडौं । वर्तमान सरकार कुन ढंगले चलेको छ भन्ने बुझ्न बिहीबार र शुक्रबारका दुई फरक निर्णय हेर्दा छर्लंग हुन्छ । कोरोना भाइरस संक्रमण तीव्र ढंगले फैलिएको भन्दै स्वास्थ्य मन्त्रालयले अभिभावकहरूलाई आफ्ना छोराछोरी स्कुल नपठाउन भन्यो । उसले १४ जिल्लालाई उच्च जोखिम भन्दै पहिले बालबालिकाको स्वास्थ्यलाई महत्व दिँदै अपिल नै निकाल्यो ।

तर, स्वास्थ्य मन्त्रालयले गरेको अपिलको २४ घन्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले स्कुल कलेज बन्द नगर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो ।

मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर स्थानीय तहसँगको समन्वयमा भने विद्यालय बन्द हुन सक्ने मन्त्रालयले जनाएको छ ।

यसअघि पनि शिक्षा मन्त्रालयले सरोकारवालाहरूसँग छलफल गरेको थियो । उक्त छलफलमा सहभागीहरूले पनि विद्यालय बन्द गर्न नहुने धारणा राखेको थिए ।

खासगरी प्याब्सन र एनप्याब्सनले स्कुल बन्द नगर्न सरकारलाई दबाब दिँदै आएका छन् । स्कुल सञ्चालकहरूको दबाबमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ परेको देखिएको छ । त्यसैले उनले स्वास्थ्य मन्त्रालयलेको अपिलसमेत बेवास्ता गरेका छन् ।

शुक्रबार नै काठमाडौं महानगरपालिकाले कोरोना लागे एक साता स्कुल बन्द गर्ने निर्णय गरेको छ । सरकारी निकायबीच नै समन्वय नहुँदा बढ्दो कोरोना महामारीमा अभिभावक अन्योलमा परेका छन् ।

यता, शिक्षा मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ ।

शुक्रबार शिक्षामन्त्री श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको एक अधिकारीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *