समाचार

कांग्रेस नेता प्रकाशमान सिंहले भने– ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म देश शान्त हुँदैन

रुपन्देही । कांग्रेस नेता प्रकाशमान सिंहले केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म देश शान्त नहुने बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले कांग्रेसको कसरतले जारी भएको संविधानविपरीत कदम चालेर आफ्नो दम्भ देखाउने ओली नेतृत्वको कम्युनिस्ट पार्टीले लगाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा भाषणमा सीमित भएको आरोप लगाए । संसदीय विधिबाटै ओलीलाई हटाउन प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

संविधान मिचेर ओलीले घोषणा गरेको चुनावमा कांग्रेसले भाग लिन नहुने उनको भनाइ छ । ‘चुनाव हुंदैमा सबै कुरा साम्य हुन्छ भन्ने छैन,’ उनले भने, ‘ओलीको कदमविरुद्ध आन्दोलन गर्नेहरु नै सरकारमा स्थान पाइने लोभमा ओलीसँग मिल्ने कुरा गर्नु अपरिपक्व निर्णय हो ।’

कांग्रेसका प्रभावशाली नेता सिंहले यो अवस्थामा अन्य दलसँग मिलेर कांग्रेसले सरकारको जिम्मेवारी लिनुपर्ने धारणा राखे । उनले पार्टीभित्रैका अग्रज नेताले पद हस्तान्तरणको भूमिका निर्वाह गर्न नसक्दा समस्याको निकाश आउन नसकिरहेको बताए । नेता सिंहले अग्रजले पत्याएर राजी भए आफू कांग्रेसको नेतृत्व लिई अघि बढ्न तयार भएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *