शिक्षा / स्वास्थ्य

बाँके कोरोनाको केन्द्रबिन्दु बनेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको बाँकेका प्रहरीले बताएको छ ।

सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन समेत दिइएको छ ।

सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ । यस अघि नेपालगञ्ज उपमहानगर पालिकाले कोरोना संक्रमित बढेको भन्दै १ हप्ताको लागी बिद्यालय बन्द गर्ने निर्णय गरिसकेका छ ।
बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण बढेपछि नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोभिड वाड सङ्क्रमितले भरिएको छ ।
छिमेकी मुलुक भारतमा तीव्र रुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *