रिबन

ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

आजका पत्रपत्रिकामा शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत जित्न सफल भएकोबारे मुख्य खबर छ । त्यस्तै माओवादी केन्द्रलाई समर्थन गर्न एमाले सांसद् फ्लोर क्रस गरेको बारे सबै पत्रिकामा खबर छ । त्यस्तै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको समाचार सबै पत्रिका स्थान दिएको छ ।

नागरिक दैनिकले ओलीको निम्तो दाहालबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं शिर्षकमा मुख्य खबर छापेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।
त्यस्तै, कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार शिर्षकमा अर्को खबरलाई पहिलो पेजमा स्थान दिएको छ । पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।
यो खबरलाई अन्नपूर्णले कर्णालीमा एमालेको फ्लोर क्रस शिर्षकमा छापेको छ । त्यस्तै जहाँ जोखिम, त्यहीं खेलाँची शिर्षकमा कोरोना बारे मुख्य खबर छापेको छ । कैलाली र कञ्चनपुरको सीमा जोडिएको गौरीफन्टा नाकामा शुक्रबार बिहान साढे १० बजेतिर अन्नपूर्ण पोस्ट्को टिम पुग्दा सबै कुरा अस्तव्यस्त देखियो। प्रहरी र सशस्त्रका जवान एउटा मात्रै सर्जिकल मास्कका भरमा भारतबाट घर फर्किरहेका नेपालीलाई लाम लगाउन र हेल्थ डेस्कमा पठाउन व्यस्त थिए। नाकामै सयौं ई–रिक्सा पार्किङ गरिएका थिए। ती रिक्साका चालक भारतीय सीमाभित्रै पसेर यात्रुका झोला ओसारिरहेका देखिन्थे। मुखमा न मास्क, हातमा न पञ्जा थियो। कुनै स्वास्थ्य सावधानी अपनाएको देखिएन।
त्यस्तै, हिजोको असिना पानीले देशका विभिन्न स्थानमा तरकारी र खाद्यबालीमा असर परेको खबरलाई पनि अन्नपूर्णले छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट