राजनीति

ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र नजाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र नजाने भएको छ । आफूहरुलाई सर्वदलीय बैठकबारे कुनै जानकारी नै नआएको उल्लेख गर्दै माओवादी केन्द्र सर्वदलीय बैठकमा नजाने भएको हो ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गरेको बताएका थिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार दाहाल र देउवासँग छलफल गर्न चाहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा समसामियक राजनीति, संसद्को चालु अधिवेशन र कोरोना महामारीका बारेमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा भने सर्वदलीय बैठकमा भाग लिन बालुवाटार जाने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । त्यस्तै बैठकमा जनता समाजवादी पार्टीबाट महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरु सहभागी हुने भए पनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव पक्ष भने सहभागी नहुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *