समाचार

बाँके कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै, एकै दिनमा १ सय ६ जनामा संक्रमण पुष्टि

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा एकै दिन १ सय ६ जनामा कोरोना पुष्टि भएको छ। गत २४ घण्टामा १ सय ९० जनामा गरिएको परीक्षणमा १ सय ६ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमित हुनेमा आठ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। अधिकांशजसो संक्रमित बाँके र बर्दियाको रहेको अस्पतालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। हालसम्म ५५ हजार ७ सय ६७ जनाको नमूना परीक्षण गर्दा ६ हजार १८ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएकाले सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अस्पतालको आग्रह छ। यसअघि शुक्रबार १ सय ८३ जनाको परीक्षण गर्दा १ सय २७ जनामा कोरोना पुष्टि भएको थियो। आगामी एक सातामा संक्रमण नियन्त्रणमा नआउने हो भने बाँके जिल्लाभरका स्वास्थ्य संस्था कोरोना संक्रमितले भरिने र उपलब्ध स्रोत साधानले समेत नधान्ने बताइएको छ। पछिल्लो समय नेपालगन्ज स्थित नेपाल–भारत जमुनाह नाकाबाट नेपाल भित्रने नेपालीको भीड अत्याधिक बढेको छ। हरेक दिन दुई हजार बढी व्यक्ति आउन थालेका छन्। सरकारले हरेक नाकामा हेल्थ डेक्स राखेपनि भारतबाट भित्रने सबैको जाँच भने हुन सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *