प्रदेश नं. १

हावाहुरीले केरा खेतीमा ठुलो क्षति

झापा । झापाको बाह्रदशी गाउँपालिकामा शुक्रवार साँझ आएको हावाहुरीले ठुलो क्षेत्रफलमा लगाएको केरा खेतीमा नराम्ररी क्षति पुर्‍याएको छ ।
वर्षासहित आएको हावाहुरीले झापाको बाह्रदशी गाउँपालिकाको बत्तीसबिघा क्षेत्रमा माता कोला खेती तथा कृषि फर्मले १५० बिगाहा क्षेत्रफलमा लगाएको केरा खेतीमा क्षति पुर्‍याएको हो ।


केरा खेतीमा भएको क्षतिबाट ३० लाखभन्दा बढीको नोक्सानी भएको अनुमान छ ।वर्षभरि दुःख गरेर लगाएको केरा खेतीबाट उत्पादन लिने बेलामा हावाहुरीले सबै बोट भाँचेर नष्ट हुँदा किसानहरू मर्कामा परेका छन् । करिब ३० बिगाहा क्षेत्रफलमा लगाइएको केरा हावाहुरीले लडाएर नष्ट गरी क्षति पुर्‍याएको छ ।


जिल्लामै केरा खेतीको लागि पकेट क्षेत्र रहेको सो क्षेत्रमा उत्पादन हुने केरा झापासहित मोरङ, सुनसरी तथा काठमाडौँका विभिन्न बजारमा खपत हुँदै आएको छ ।जिल्ला कृषि ज्ञान केन्द्रले भने क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *