विचार

सत्ता, शक्ति, प्रवृत्ति र परिणाम

निरंकुश सोच बोकेका संसारका कुनैपनि अतिवादी शासकले आफूले असल शासन नै संचालन गरेको छु भन्ने ठान्दछ। उ जतिसुकै निरंकुश र नरसंहारक किन न होस। साम्यवादका गुरु कार्लमार्क्सले प्रतिपादन गरेको कम्युनिष्ट मेनिफेस्टोको चारवटा बुँदा मध्ये दुईवटा बुँदा वर्ग संघर्ष (class struggle ) र सर्वहाराको अधिनायकत्व (proletariat dictatorship) को परिभाषा अनुसार (The proletarians have nothing to loose but  their chains,they have a would to win.working men of all countries should unite.) अर्थात सर्वहाराले केही गुमाउनु पर्दैन। तिमिहरुलाई यो विश्व जित्नको लागि हो।

यसरी बिश्व भरका कम्युनिष्ट एकताबाट आफ्नो वर्गीय शत्रु पूँजिपतिको रक्तपातपूर्ण बिनाशमा मार्क्सवाद दृढ बिश्वास राख्दछ। “यो साम्यवाद मान्नेहरुको मुल मन्त्र हो। साम्यवादी बिचार मान्ने बाहेक  अरु सबै वर्ग शत्रु हुन, प्रतिक्रियावादी हुन भन्ने कम्युनिष्टहरुले तल्लो वर्गलाई समेत यही पाठ घोकाएको हुन्छ। कम्युनिष्टहरू सधैं क्रान्तिको नाममा मानव हत्यालाई राजनीतिक विजय ठान्दछन। २०२८ सालमा पूर्व एमालेले झापा आन्दोलनको नाममा चलाएको  सामन्ती सफायाको नाममा निर्दोष किसान र नाबालकको हत्या होस या चाहे प्रचण्डको नेतृत्वमा माओवादीले २०५२ सालदेखि  चलाएको विध्वंस तथा सत्र हजार नेपाली नागरिकको हत्या होस यि सबै मानव हत्या (Genocide) थिए। हत्या गर्नु,मान्छे मार्नु,आफ्ना बिरोधिलाई वर्ग शत्रु घोषणा गरेर राजनीतिक रुपमा मात्र नभएर भौतिक रुपमा नै समाप्त पार्नु कम्युनिष्ट क्रान्तिकारीता ठहरिन्छ।

हाम्रो देशको सन्दर्भमा पनि कम्युनिष्टहरूले क्रान्ति र परिवर्तनको नाममा  हत्याको शृङ्खला निरन्तर जारी राखे। सत्ता प्राप्तिको लागि हत्या नै उनको उच्चतम विकल्प हो भन्ने बिचार र सोच उनको दिमागमा पालिरहे। कम्युनिस्टहरु चाहे सत्तामा हुन या सत्ता बाहिर हुन हत्या,बलात्कार , कुशासन निरन्तर चलिरहन्छ। सरकार कै संरक्षणमा नाबालिका  निर्मला पन्त र भगीरथी भट्टको हत्यारालाई पक्राउ गरि अपराधिलाई सजाय दिनुको सट्टा आफ्नै संरक्षणमा अपराधिलाई जोगाइ राखे। आफ्नो दलका गम्भीर अपराध गरेका ज्यानमारा कैदीलाई सरकारको सिफारिसमा कैद मिनाहा गरियो। ज्यानमारा कैदिले उन्मुक्ति पाए। पीडित समक्ष खुलमखुल्ला  समाजमा हिंड्डुल गरेका छन। नागरिकलाई शुसासनको प्रत्याभूति दिने,समाजमा शान्तिसुरक्षा कायम गर्ने कार्यपालिकाका गृहमन्त्री एउटा अपराधी जेलमुक्त हुनुपर्दछ भनेर माइतीघर मन्डलामा धर्नामा बस्छन। यसबाट के स्पस्ट हुन्छ भने राज्य कानुन बिहिन छ। यि दुबै कम्युनिष्ट खेमाका ओली प्रचण्ड हिंसा र अपराध गरेर आएको पृष्ठभूमि भएको कारण यिनिहरुबाट मानव हत्याको शृङ्खला राेकिन मुस्किल छ ।

प्रवृत्ति :

स्वच्छाचारी शासन व्यवस्थामा व्यापक भ्रष्टाचार हुने गर्दछ। यो अहिलेको ओली कम्युनिष्ट सरकार सबैभन्दा बढी देश र जनताका लागि पीडा र  मर्मको बिषय हो। यो लोकतन्त्रको लागि घातक हो। नागरिकलाई सबैभन्दा भैपरी आउने दैनिक समस्या सङ्ग प्रत्यक्ष जोडिएको बिषय भएको हुनाले नागरिक सरकारको बिरुद्धमा एकजुट हुन्छन ,बिरोध गर्छन र खबरदारी गर्छन। तर यस्तो बिरोध निरंकुश सरकारलाई ग्राह्य हुंदैन। र,नागरिक स्वतन्त्रता मा बन्देज लगाउछ।

निरंकुश शासकले संबिधान ऐन कानुन म आफै बनाउने हो मैले जे बोल्छु त्यो नागरिकले हुबहु स्वीकार गर्नुपर्दछ भन्ने ठान्दछ। म बाहेक सबै रैती हुन भन्छ र नागरिकप्रति रैतिको व्यबहार गर्दछ। जबसम्म शासकको हिंसा ग्रस्त सोच दिमागमा रहिरहन्छ  नागरिकले कहिले पनि सुशासन,न्याय र संवृद्धिको अनुभव प्राप्त गर्न सक्दैनन।कम्युनिष्ट शासनमा शासकको दयामायामा नागरिकको जीवन चलिरहेको हुन्छ। मानवप्रति विवेकको गुन्जायस हुँदैन। कम्युनिस्टको नजरमा मानव निर्जिव वस्तु सरह हुन्छ। जसरी पूर्व क्रुर तानाशाह युगाण्डाका दादा इदि अमिन,जर्मनीको हिटलर,रसियाका जोसेफ स्टालिन,युगोस्लाभीयाको मार्शल टिटो,कम्बोडियाका पोलपोट,भियतनामका होचिमिन्ह,इराकका शद्धाम हुशैन,र उत्तर कोरिया का वर्तमान क्रुर शासक किम जोङ्ग आदिले आफ्नो सत्ता सुरक्षित राख्नको लागि आफ्नो देशको नागरिक माथी निर्ममतापूर्वक दमन गरे। चरम यातना दिए। नेपालका कम्युनिष्ट शासक पनि तिनै बिचारद्वारा निर्देशित भएकोले यी चाहे ओली हुन चाहे प्रचण्ड हुन दुबैको नियत र सोच ति क्रुर कम्युनिष्ट शासकको भन्दा भिन्न हुने छैन।

प्रवृत्ति र परिणाम :

विकाश र समृद्धिको कुरा गर्ने हो भने एउटा कम्युनिष्ट पार्टी माओवादीले देशको भौतिक पूर्वाधार नष्ट मात्र होइन खरबौंको राष्ट्रको सम्पत्ति ध्वस्त बनाएर ३० औं बर्षसम्म राष्ट्र उठ्नै नसक्नेगरी थिलोथिलो बनायाे। आर्थिक रुपमा कंगाल बनायाे । लाखौं युवा जनशक्तिलाई अरबको खाडिमा बिदेशिन बाध्य बनायाे। देशमा उत्पादनशिल जनशक्ति न भएपछी ज्यादा से ज्यादा राज्यले परनिर्भरता ब्यहोर्नु पर्यो। अर्को कम्युनिष्ट दल एमाले ले सन 1994.june(जेष्ठ २०५१) नेपाली कंग्रेसको सरकार हुँदा अरुण तेश्रो परियोजना वर्ल्ड बैंक सङ्ग निर्माण गर्ने सहमति भएको थियो। ९०२ मेगावाटको अरुण तेस्रो परियोजना युद्ध स्तरमा कार्य हुनेवाला थियो। २०५१,सालको मंसिरको अन्त तिर विश्व बैंकको संचालक समितिको बैठकको समाप्तिबाट अन्तरास्ट्रिय सहयोगको नाकाबन्दी होइन बरु यसबाट राष्ट्रिय हित र दिगो बिकासको निम्ति अघि बढ्ने बाटो फराकिलो भएको छ भन्ने एमालेले आफ्नो बिज्ञप्तीमा उल्लेख गरेको थियो। योजना रद्ध हुंदा एमालेले खुसी ब्यक्त गरेको थियो। यसरी नेपालका कम्युनिष्टहरु सम्बृद्धिका बाधक हुन भन्नेमा दुइमत छैन।

झन्डै दुईतिहाइ को कम्युनिष्ट सरकार गठन भैसकेपछी भ्रष्टाचारको ग्राफ भर्टिकल र होरिजेन्टल दुबै उच्च बिन्दुमा पुगेको छ। सन 1989 मा नेपालको गरिबी २६% थियो भने अहिले १०% ले वृद्धि भएर ३६% पुगेको छ। नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि हुन सकेको छैन। महंगी दर दिन दुई गुणा रात चौगुणा बढेको छ। सीमित ब्यक्ति बाहेक नेपालीको जीवनस्तर दयनीय देखिन्छ।

२०५१ सालमा नेकपा एमालेको सरकार भएको समयमा पटक पटक नेपाली कंग्रेसले अरुण तेस्रो आयोजना अगाडि बढाउन आग्रह गर्दा समेत शून्य कान लगाएन। मध्यावधि निर्वाचन हुनुभन्दा ठीक एक महिना अगाडि सन 1994 अक्टाेवर 18 मा नेकपा एमालेका महासचिव माधब कुमार नेपालले विश्व बैंक लगायत अन्य दातृ निकायलाई अरुण तेस्रो परियोजना कार्यान्वयन नगर्न पत्र लेखे।अहिले उक्त अरुण तेस्रो परियोजना भारतलाई सुम्पिए। यसकारण नेपालको बिकास र समृद्धिको बाधक नेपालका कम्युनिस्टहरु नै हुन भन्नेमा दुविधा रहेन। यि यावत राष्तघाति,कुकृत्य कम्युनिष्टहरुले गरेको प्रत्यक्ष नेपाली जनताले देखेर भोग गर्दागर्दै पनि किन कम्युनिस्ट हुन्छन ? लोकतन्त्रवादीले यसको व्याख्या र गहन चिन्तन गर्नु जरुरी छ।आत्मासमिक्षा गर्नु जरुरी छ।

लोकतान्त्रिक ब्यबस्थामा शक्तिपृथकिकरणको सिद्धान्त अनुरुप राज्यको अंगहरुको श्रोत र शक्तिको बांड्फांड गरिन्छ। तीन वटै संस्थाको भिन्नभिन्न अधिकार क्षेत्र तोकिएको हुन्छ।आ-आफ्नो अधिकार प्रयोग गर्न स्वतन्त्र हुन्छन। एकले अर्कालाई चेक एन्ड ब्यालेन्स गर्दछ। प्रजातन्त्रमा कानुनी राज स्थापित हुन्छ।लोकतन्त्रमा मानव अधिकार र कानुनी शासन प्रजातन्त्रका आधार स्तम्भ हुन। स्वच्छाचारी शासन अन्त्य गर्न प्रजातान्त्रिक ब्यबस्थाको सदैव नियम कानुनमा आधारित प्रशासन ,राजनीति ,अर्थतन्त्र र समाजको कुशल ब्यबस्थापन गर्दछ।

प्रजातन्त्र मा सम्पुर्ण नागरिक हरुप्रती समान व्यबहार गर्दछ। प्रजातन्त्रमा रेफ्रीले न हेरेपनि खेलको नियम पालना हुन्छ। तर कम्युनिष्टतन्त्रमा राजनीतिक खेलको नियम पालना नहुने हुनाले स्वच्छाचारी शासन संचालन हुन्छ। लोकतन्त्रमा प्रधानमन्त्री जतिसुकै शक्तिशाली भएतापनि सामान्य नागरिक सरह समान ठानिन्छ। संबिधानभन्दा माथि कोहि हुंदैन।

प्रजातन्त्रमा ब्यक्तिको शासन होइन बिधिको शासन हुन्छ। तर कम्युनिष्ट शासन ब्यबस्था स्वेच्छाचारी शासन ब्यबस्थामा विधि र पद्धतिलाई स्वीकार गरिदैन। सत्तामा रहनेले मनोमानी ढंगले एकाधिकार प्रयोग गर्दछन। नागरिकका समस्या र गुनासा हरुलाई संबोधन गरिदैन।

उदाहरणका लागि जब ओलीको नेतृत्वमा सरकार गठन भयो उक्त समयदेखि नै नागरिक अधिकार कुन्ठित गर्ने दुस्प्रयास गरेका थिए। माइतीघर मण्डलामा सरकारको बिरोध गर्ने नागरिक समाजप्रति असहिष्णु बन्दै ओलीले शान्तिपूर्ण धर्नामा रोक लगाए। तत्कालीन समयमा अहिले ओलीको बिरोध गर्ने प्रचण्ड र माधवकुमार नेपालले त्यसो गर्दा आत्मासन्तुष्टि लिइरहेका थिए। अहिले तिनै कम्युनिष्ट प्रचण्ड र माधवकुमार नेपालले माइतीघर मण्डलाकाे उपयोगिता देखे। तसर्थ कम्युनिस्टहरु आफ्ना लागि मात्र हक र अधिकारका कुरा गर्दछन। यसबाट के स्पस्ट हुन्छ भने कम्युनिस्टहरु देशको लागि होइन आफ्नो लागि मात्र सुख सुबिधा उपभोग गर्ने नितान्त स्वार्थी,पुर्वाग्रही,निर्दयी,हुन्छन भन्नेमा ऐना जत्तिकै छर्लङ्ग छ। अब पनि नेपाली जनताले कम्युनिस्टको आचरण र चरित्रबाट पाठ नसिक्ने हो भने नेपालीले  आफ्नो भाग्यलाई दोष दिने र धिक्कार्ने बाहेक केही प्राप्त  हुने छैन। हाम्रा पछिल्ला सन्ततिले यहि गरिबी,यही दुख,यहि पीडा,यहि अन्याय अत्याचार ,यहि कुशासन मात्र देख्नेछन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *