देश

देउवा तयार भए माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं। प्रतिपक्षी दलहरू वैकल्पिक सरकार बनाउन सक्ने अवस्थामा नभए पनि एमालेभित्रको किचलाले प्रधानमन्त्री केपी ओली कुनै पनि पद गुमाउने अवस्थामा पुगेका छन् । जसको संकेत कर्णाली प्रदेश सरकारले पाएको विश्वासको मतले पुष्टि गरेको छ ।

कर्णालीमा एमालेको बहुमत हुँदाहुँदै पनि १२ सिट भएको माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भए । अब बाँकी अवधि शाहीलाई मुख्यमन्त्रीबाट हटाउन सकिने अवस्था छैन ।

माधव नेपाल पक्षका असहयोगका कारण एमाले नेतृत्वका कुनै पनि प्रदेश सरकार सुरक्षित देखिएका छैनन् । एकपछि अर्को प्रदेश सरकार परिवर्तन भएपछि केन्द्रमा ओलीलाई फाल्ने माओवादी केन्द्रको तयारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने ग्रिन सिग्नल दिए माओवादी केन्द्रले कुनै पनि समयमा ओलीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न दबाब दिँदै आएका छन् ।
कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूबीच शनिबार भएका छुट्टाछुट्टै संवादमा कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउनेमा सहमति जुटेको छ । तर, देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई सहमतिको अंग बनाउनुपर्ने बताएपछि निष्कर्षमा पुग्न नसकेको स्रोतहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा सर्वदलीय बैठक राखेर एमसिसी संसदबाट पारित गराउन देउवाको सहयोग खोजेका थिए । ‘अरू विषय लगभग सहमति नजिक पुगिसकेको छ, एमसीसीबारे कुरा मिलेको छैन,’ स्रोतले भन्यो, ‘त्यसमा पनि एकमत बने आइतबार साँझसम्म देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्नेछ ।’

देउवाले एमसीसी सम्झौता अनुमोदन नभए आफूलाई अप्ठ्यारो हुने बताएका थिए। माओवादीले भने सरकार बन्नुअघि र यथावत् अवस्थामा सम्झौता अनुमोदन गर्न नसकिने अडान राखेको छ।

‘हामी सहमतिको निकै नजिक पुगेका छौं, एमसीसीलाई साइडमा राख्ने हो भने आइतबार साँझसम्म गठबन्धन सरकार बनाउने सहमति जुट्नेछ,’ स्रोतले भन्यो, ‘त्यसो हुन सकेन भने पनि हामी अब अरू पर्खिन सक्दैनौं, समर्थन फिर्ता लिइहाल्छौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *