समाचार

बादलको सांसद र मन्त्रीे पद गुम्यो, आजै साँझ मन्त्रीको सपथ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । राष्ट्रिय सभा सचिवालयले आज उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।

सांसद पदसँगै उनको मन्त्री पद पनि गुमेको छ । थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । पत्र प्राप्त भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेसँगै उनको सांसद पद गुमेको हो ।

यसअघि माओवादी केन्द्रको निर्णयअनुसार प्रतिनिधिसभा सदस्य रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई पनि प्रधानमन्त्री केपी ओलीले फेरि ६ महिनाका लागि मन्त्री बनाएका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि बादल एमाले प्रवेश गरेका थिए । थापाको सांसद पद गुमेपछि अब फेरि मन्त्री बन्न उनले संविधानअनुसार सपथ लिनुपर्छ ।

बादलले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *