समाचार

नेपालमा डढेलोले वन्यजन्तुमा पुगेको क्षतिको आकलन नै छैन

काठमाडौं । गत पुसमा कञ्चनजंघा संरक्षण क्षेत्र नजिकै पर्ने पाथीभराको वन क्षेत्रमा डढेलो लाग्यो। उक्त ठाउँ दुर्लभ रेड पान्डाको आश्रयस्थलका रूपमा परिचित छ।

दुई हजार मिटरभन्दा माथिको उचाइमा लागेको उक्त आगो डेढ सातापछि आकाशबाट परेको पानीका कारण निभ्यो। त्यसबेलासम्म उच्च पहाडी भूगोलमा लागेको उक्त आगोले ८० देखि १०० हेक्टर जंगल क्षेत्रलाई नष्ट गरिसकेको थियो भने कैयौँ रेड पान्डालाई विस्थापित गराएको संरक्षणकर्मीहरू बताउँछन्।

रेडपान्डा नेटवर्कका नेपालस्थित प्रतिनिधि आङफुरी शेर्पा भन्छन्, ‘त्यो रेडपान्डाको बसोबास क्षेत्र भएकाले भाग्न सक्ने रेडपान्डाहरू भागे होलान्। तर यति नै सङ्ख्यामा हताहत भयो भन्न सकिएन। तर हामीले काम गरिरहेकै सामुदायिक वनभित्र क्षति भएको छ जुन निकै ठूलो हो। त्यो जङ्गललाई फेरि त्यही अवस्थामा पुर्‍याउन सयौँ वर्ष लाग्छ।’

कञ्चनजङ्घा संरक्षण क्षेत्र वरपर कति रेडपान्डा छन् भन्ने यकिन तथ्याङ्क छैन। तर संसारको आधा रेडपान्डा पूर्वी हिमालय क्षेत्रमा बसोबास गरिरहेको विश्व वन्यजन्तु कोषले जनाएको छ। नेपालमा ५०० भन्दा कम सङ्ख्यामा उक्त जनावर भएको ठानिन्छ।

यो वर्षको आगलागीले रेडपान्डा संरक्षित भएको क्षेत्रमा मात्रै नभई हिमचितुवासहितका प्रजाति पाइने क्षेत्रहरूलाई पनि पिरोलेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका संरक्षण अधिकृत ऋषि बराल मानिस नै पुग्न कठिन भएका क्षेत्रहरूमा आगो लागिरहेकाले कति क्षति भयो भन्नै नसकिने अवस्था रहेको बताउँछन्।

अलि अगाडि अन्नपूर्णमा व्यापक रूपमा आगलागी भएको थियो। मनाङमा लगभग १ हजार हेक्टर जति नष्ट भएको थियो भने सातदेखि आठ सय हेक्टर म्याग्दीको देउराली क्षेत्रमा नष्ट भएको थियो,’ उनले भने ।

बरालले आगो निभाउन खटिएका व्यक्तिहरूले आगलागीमा ज्यान गुमाएको वा घाइते भएको घटना फेला नपरेको बताए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले वनमा लाग्ने डढेलोले वन्यजन्तुमा पारेको असरको मूल्याङ्कन नगरिएको बताए।

‘हाम्रो निकुञ्जहरूमा आगो लाग्दा ठूला ठूला जनावरहरू आगो नलगेको क्षेत्रहरूमा जान्छन्। मृग प्रजाति, शाकाहारी वा मांसाहारी आहार खाने प्रजातिका जनावरहरू त्यति मर्दैनन्,’ उनले भने, ‘असरको मूल्याङ्कन नै गरिएको छैन। तर निश्चित क्षेत्र ९ब्लक० मा आगो लाग्ने भएकाले निकुञ्जको हकमा त्यति ठूलो असर परेको छैन।’

त्यसबाहेक आगलागीले घाँस र रुखहरू नष्ट पार्दा सबै किसिमका जनावरहरू जङ्गलबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेको विज्ञहरू बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक विश्वनाथ उप्रेती एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो पर्ने बताउँछन्।

‘अनियन्त्रित हिसाबले आगो लाग्दा त्यसको केही न केही प्रभाव परिहाल्छ। कति जनावरहरू भाग्न पनि सक्लान् वा कति मर्छन् पनि। तर भुईँमा अण्डा पार्ने प्रजातिहरूलाई निक्कै अप्ठेरो पर्छ,’ उनले भने ।

त्यही भएर आगलागी नियन्त्रणका विभिन्न वैज्ञानिक उपायहरू अवलम्बन गरिनुपर्ने र मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने अवस्था आउन दिन नहुने उनी बताउँछन्।

वन्यजन्तु विज्ञहरूले सुख्खा याममा डढेलो लाग्न नदिन ठोस रणनीतिहरू तय गर्ने र स्थानीय स्तरमा नै आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति र उपकरण व्यवस्था गर्न सकिए आगलागीबाट नष्ट भइरहेको जैविक विविधता जोगाउन सकिने बताएका छन्।

रेडपान्डा नेटवर्कका शेर्पा भन्छन्, ‘आगो लाग्न नदिन जुन क्षेत्रमा आगलागी हुन्छ त्यहाँ चेतनाको स्तर बढाउनुपर्छ। त्यसबाहेक अग्नि नियन्त्रण उपकरणहरूसहित आगो निभाउन सक्ने दक्ष जनशक्तिहरू स्थानीय स्तरमा नै हुनुपर्छ।’

सरकारको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्मा वर्तमान सरकारले वन क्षेत्रमा बर्सेनि लाग्ने डढेलो नियन्त्रण गर्न प्राविधिक क्षमता बढाउन कदमहरू चालेको बताए।

‘प्रधानमन्त्रीकै नेतृत्वमा हुने केन्द्रीय विपद् व्यवस्थापन परिषद्को बैठकमा निक्कै गम्भीरताका साथ कुराहरू भएका छन्। अग्नि नियन्त्रणका लागि हेलिकोप्टरसम्म किन्ने भन्ने कुरा प्रधानमन्त्रीले राख्नुभएको छ। सुरक्षा निकाय र निजी क्षेत्रका विमान चालकहरूको क्षमता अभिवृद्धि गर्ने कुरादेखि अग्नि नियन्त्रण उपकरणको भित्र्याउनेसम्मका कुराहरू भएको छ,’ उनले भने ।

अढाई दशकदेखि बन क्षेत्रको डढेलोको विषयमा अध्ययन गरिरहेको बताउने शर्मा सरकारको पछिल्लो प्रतिबद्धताको कार्यान्वयनले वन क्षेत्र र जैविक विविधता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने ठान्छन्। नेपालमा लगभग ६४ लाख हेक्टर वन क्षेत्र रहेको आँकडा छ।
विश्वको कुल जैविक विविधतामध्ये नौ प्रतिशतभन्दा बढी चराहरू, साढे चार प्रतिशत स्तनधारी जनावरहरू र चार प्रतिशत पुतलीहरू नेपालमा पाइने गरेको सन् २०१४ को एउटा तथ्याङ्कले देखाएको छ।

नेपाल सरकार र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडद्वारा संयुक्त रूपमा विकास गरिएको एउटा बन डढेलो पहिचान तथा अनुगमन प्रणालीले सन् २०२१ मा मात्रै नेपालमा साना ठूला गरी ४,४०० भन्दा बढी आगलागीको अभिलेख राखेको छ। – बीबीसीबाट साभार

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *