देश

प्रचण्ड र ओलीबीच बर्खास्त र नियुक्तिको प्रतिस्पर्धा, एउटा सांसदबाट हटाउने, अर्को मन्त्रीमा नियुक्ति गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘शीतयुद्ध’ चलेको छ । कुनै समय ओली र प्रचण्ड नेकपाका संयुक्त अध्यक्ष थिए । दुवैले आफूलाई पाइलट भनेर सम्बोधन गर्न रुचाउँथे । तर, समय बित्दै जाँदा नेकपा खारेज भयो । एमाले र माओवादी केन्द्र अलग अलग भए ।

प्रचण्डले राजनीतिक रूपमा ठूलै क्षति बेहोरे । प्रतिनिधिसभा र प्रदेश सभाका गरी माओवादीका १६ सांसद ओलीले लगे । राजनीतिक रूपमा पराजित भए पनि अहिले ओलीको कुर्सी प्रचण्डकै कारण टिकेको छ । प्रचण्डले ओलीलाई दिएको समर्थन फिर्ता लिएलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिँदा आफ्नै पार्टीका तीन–चार सांसद अनुपस्थित भइदिएमा मात्रै पनि ओलीको पद स्वतः गुम्छ । तर, पनि ओलीले आफूलाई इतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री भनेर भाषण छाट्न छोडेका छैनन् ।

कर्णाली प्रदेशको घटनाले पनि प्रचण्डले जुनसुकै समयमा ओलीलाई कुर्सीबाट तल खसाउने देखिएको छ । प्रचण्ड योजनाबद्ध रूपमा लागेका छन् । लामो समयपछि शुक्रबार ओलीले प्रचण्डलाई फोन गरेर छोटो कुराकानी गरेका थिए । नत्र दुईबीच बोलचालसमेत बन्द थियो । ओलीले शनिबारको सर्वदलीय बैठकमा उपस्थित भइदिन फोन गरेका थिए । तर, प्रचण्ड बालुवाटार गइदिएनन् । त्यसपछि ओली प्रचण्डसँग निकै आक्रोशित भएका छन् । प्रचण्डको ग्रिन सिग्नलविना संसदमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रक्रियामा जाने स्थिति छैन । सोही कारण बालुवाटार फेरि पनि प्रतिनिधिसभा भंग गर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो ।

यतिबेला माओवादी केन्द्रका अध्यक्ष एमालेतिर लागेका सांसदलाई धमाधम हटाउने अभियानमा लागेका छन् । अर्कातिर ओली भने माओवादीले सांसदबाट हटाएकालाई तुरुन्तै मन्त्री नियुक्ति दिइरहेका छन् । प्रचण्डले प्रतिनिधिसभाका चारजनालाई सांसदबाट हटाएका थिए । तर, ओलीले तुरुन्तै उनीहरूलाई मन्त्री नियुक्ति गरिहाले । आइतबार पनि प्रचण्डले राष्ट्रिय सभाबाट हटाएका रामबहादुर थापा बादललाई ओलीले तुरुन्तै गृहमन्त्री नियुक्ति गरे ।

संविधानमा संसद् सदस्य नरहेको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने सुविधाको ओलीले भरपूर उपयोग गरेका छन् । तर, सांसद सदस्यता खारेज भएका पूर्वमाओवादीका नेतालाई कसरी ६ महिनाभित्र सांसद बनाउने भन्ने चुनौती भने ओलीमा थपिएको छ । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी प्रतिनिधिसभामा र बादल राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आउने सम्भावना निकै कम भएको बताइन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *