समाचार

माडीबाट प्रचण्डको उदघोष, केही दिनमै केन्द्रमा नयाँ सरकार गठन हुन्छ

काठमाडौं । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै केन्द्रमा नयाँ सरकार गठन हुने उदघोष गरेका छन् । त्यसको छनक कर्णाली प्रदेशले देखाइसकेको उनको भनाइ छ ।

चितवनमा आइतबार वाईसियल नेपाल माडीे नगर भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केन्द्रमा नयाँ कायापलट हुँदैछ । अब धेरै दिन सरकार टिक्ने छैन । कर्णालीमा देखिहाल्नुभो । केही दिनभित्रै नयाँ समाचार सुन्नु हुनेछ ।’

हिजो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध उभिएका सबै राजनीतिक दलहरू मिलेर जनपक्षीय सरकारमा जान जरुरी रहेको उनले औंल्याए । तर, कसको नेतृत्वमा सरकार बन्दैछ भन्ने उनले खुलाएनन् ।

गणतन्त्रमाथि हमला गर्ने दुस्साहस भइरहेको भन्दै प्रचण्डले भने, ‘७० वर्ष लामो आन्दोलनका उपलब्धिमाथि प्रतिक्रियावादी शक्तिहरू इतिहासको चक्कालाई पछाडि धकेल्न खोज्दैछन् ।’

प्रचण्ड अहिले ओलीसँग निकै रुष्ट छन् । आफ्नो १६ सांसद र नेतालाई एमाले लगेपछि प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट खसाल्ने योजना बुनेका छन् । त्यसका लागि उनी निरन्तर कांग्रेस र जसपासँग अनौपचारिक संवादमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *