राजनीति

दौरासुरुवालमा बादल, ओलीपथ पछ्याउँदै

काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलको केमेस्ट्री निकै मिलेको देखिएको छ । माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका बादलमा अब पुष्पकमल दाहाल प्रचण्डसँग कुनै पनि विशेषता मिल्दैन । बादल अहिले ओलीले जे जे भन्छन् त्यही त्यही गर्दै हिँडेका छन् ।

कम्युनिस्टहरू धर्मलाई अफिम ठान्छन् । तर, त्यही धर्मको वकालत गर्दै हिँड्छन् । यो प्रवृत्ति ओली र प्रचण्डमा धेरै देखिएको छ । कम्युनिस्टहरु कतिसम्म ढोंगी हुन्छन् भन्ने पछिल्लो उदाहरण गृहमन्त्री बादल बनेका छन् । हिजोसम्म सर्वहाराको मुक्तिका लागि भन्दै माओवादी जनयुद्ध गरेर हजारौं मानिसको हत्यामा संलग्न बादल अहिले दक्षिणपन्थी भासमा भासिएका छन् ।

१० वर्षे जनयुद्धमा ‘प्रचण्डपथ’ मा हिँडेका बादल बुढ्यौली लागेसँगै ‘ओलीपथ’ मा यु टर्न भएका छन् । अर्थात् बादलमा ओलीको मण्डलेकरण देखिएको छ ।

अलि अगाडिसम्म उनी दौरासुरुवाललाई पुँजीपतिको वस्त्र भन्थे । टाइसुटमा हिँड्थे । तीन वर्षसम्म उनी त्यसरी नै हिँडे । तर, जब आइतबार माओवादी केन्द्रले उनको राष्ट्रिय सभा सदस्य खाइदियो, तब उनी आइतबार शीतल निवासमा पुनः गृहमन्त्रीको सपथ लिन पुग्दा दौरासुरुवाल र कालोटोपी लगाएर पुगेका थिए ।

बादलको यो बदलावलाई धेरैले प्रधानमन्त्री केपी ओलीको सिको ठानेका छन् । उनको पदचाप पछ्याएको मानेका छन् । मान्छे आफ्नो स्वार्थका लागि कतिसम्म रंग फेर्छ भन्ने उदाहरण बादल बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *