समाचार

संसद्को चालू अधिवेशन अन्त्य : के आज माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैथ्यो ?

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले हतारमा संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुको पछाडिका कारण खोज्न थालिएको छ ।

बजेट अधिवेशन सुरु गर्नुपर्ने भएकाले पनि हिउँदे अधिवेशन अन्त्य गरिएको दलील सरकार र सत्तारुढ दल एमालेका नेताले बताउने गरेका छन् । तर भित्री कथा भने अर्कै रहेको बताइएको छ । सम्भवतः आजै माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिँदैथ्यो । त्यसका लागि आज दिउँसो माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको थियो । बैठक राखेर लिखित रूपमै समर्थन फिर्ता लिने माओवादी केन्द्रको भित्री तयारीको सुइँको बालुवाटारले आइतबार राति नै प्राप्त गरेको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म कांग्रेसले नयाँ सरकार गठनको अग्रसरता नलिने सार्वजनिक रुपमै बताएका थिए । त्यसपछि चितवनमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई अन्तिम धक्का दिन आफू काठमाडौं जाँदै गरेको र भोलि (सोमबार) नै एउटा ठोस निर्णय आउने बताएका थिए । त्यसैले प्रधानमन्त्री केपी ओलीले सोमबार बिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक राखे । बैठकले संसद्को चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सिफारिस प्राप्त गर्ना साथ हतारमा संसदको चालू अधिवेशन अन्त्यको निर्णय गरेकी छन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गर्दै बैठक अन्त्य गरेकी छन् ।

संसदको चालू अधिवेशन अन्त्य भएपछि ओलीको कुर्सी अब एक महिनासम्म लम्बिने देखिएको छ । जेठ १५ गते बजेट सार्वजनिक गर्नैपर्ने हुन्छ । बजेट अधिवेशन जेठ पहिलो साता मात्र बोलाइने निश्चित छ । हतार हतारमा बजेट ल्याएर लोकप्रिय र जस पाउने कार्यक्रम ल्याउने ओलीको तयारी छ । यसपटक कांग्रेस पनि ओलीलाई फाल्ने निर्णयमा पुगेकाले पनि संसदको चालू अधिवेशन अन्त्य गरिएको चर्चा सुरु भएको छ ।

कांग्रेस नेता प्रकाशमान सिंहले सरकारले संसदको अधिवेशन हठात अन्त्य गरेर कायरता देखाएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका नेता देव गुरुङले माओवादी केन्द्रले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीअनुरुप स्थायी कमिटी बैठक बोलाएको बताइसकेका छन् । माओवादीको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *