राजनीति

सरकार बनाउन ‘सिओर सर्ट’ हुनुप-यो नि !: सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक हत्कण्डा मच्चाएको आरोप नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगाएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्थापनाको ५२ औं वर्षको अवसरमा बाल्मीकि क्याम्पसमा आयोजित कार्यक्रममा सभापति देउवाले भने– ‘पेन्डिामिकले संसारभर हाहाकार मच्चाएका बेला प्रधानमन्त्री ओलीले राजनीतिक हत्कण्डा मच्चाएका हुन् ।’

प्रधानमन्त्री ओलीलाई हटाउन आफूले चाहेको तर संख्याको ‘सिओर एन्ड सर्ट’ नभएकाले हटाउन सम्भव नभएको सभापति देउवाको भनाइ थियो । सभापति देउवाले भने, ‘राष्ट्रवादको एजेन्डा लिएर चुनाव जितेका प्रधानमन्त्री ओली यतिबेला भारतको टाङ्गमुनी छिरेका छन् ।’

नयाँ सरकार बन्ने सम्भावना समाप्त भइनसकेको सभापति देउवाको भनाइ थियो । तर नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जनता समाजवादी पार्टी (जसपा) पनि प्रधानमन्त्री ओलीसँग नजिक भएकाले प्रधानमन्त्री पदबाट तत्काल ओलीलाई हटाउन सम्भव नभएको हो, सभापति देउवाले भने, ‘राजनीतिमा सम्भावना अन्त्य हुँदैन, त्यसैले नयाँ सरकार बन्ने सम्भावना समाप्त भइसकेको छैन ।’

नेपालको राजनीतिक परिवर्तनमा विद्यार्थीको भूमिका अतुलनीय रहेको सभापति देउवाले बताए । तर अहिले एउटा कलेजमा तीन वटासम्म नेविसंघको इकाइ गठन भएको रहेछ, यस्तो हिसाबले संगठन कसरी चल्छ भनी सभापति देउवाले प्रतिप्रश्न गरे ।

नेविसंघमा भागवण्डको किचलोले विस्तार हुन नपाएको भन्दै सभापति देउवाले अब सबैलाई मिलाएर नेविसंघलाई छिट्टै पूर्णता दिने बताए । कार्यक्रममा पार्टीका महामन्त्री शसांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता कृष्ण सिटौलाको समेत सहभागिता थियो ।

महामन्त्री कोइरालाले मतदाता बनाउन लाग्नुहोस भन्दै अधिवेशन गराउन तयार भए नेविसंघले पूर्णता पाउने बताए । उनले भने, कांग्रेसले सरकार अपदस्त गर्नुपर्छ, एमालेले फ्लोर क्रस गरे कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’

सहमहामन्त्री डा. महतले विद्यार्थीको नेतृत्वमा पटकपटक परिवर्तन भएको बताए । उनले भने, ‘संविधान संस्थागत भयो, तर कम्युनिष्टका करण जनताले परिवर्तनको अनुभुति गर्न पाएनन ।’

यस्तै नेता सिटौलाले पाटीमा वृहद एकता आवश्यकता औंल्याए। उनले एकता भएमात्र कम्युनिष्टसँग लड्न सक्ने बताए । चौतर्फी खतरा छ, सत्ता टिकउन संवैधानिक अधिकारको दुरूपयोग भएको छ, व्यवस्था नरूचाउनेहरूले लोकतन्त्र धरापमा पारेको आरोप नेता सिटौलाको थियो । कार्यक्रममा महामन्त्री दीपक भट्टराई र प्रतिमा गौतमले पनि बोलेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *