देश

जसपा छिन्नभिन्न पार्ने प्रधानमन्त्रीको रणनीति, लुम्बिनीबाट सुरु भयो खेल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीलाई छिन्नभिन्न बनाउने खेल खेलेका छन् । त्यसको सुरुवात लुम्बिनी प्रदेशबाट सुरु भइसकेको छ ।

यसअघि माओवादी केन्द्रलाई ध्वस्त बनाएका ओलीले अहिले जसपामा ध्यानकेन्द्रित गरेका छन् । राजनीतिमा जोसँग बढी निकटता हुन्छ वा गरिन्छ, त्यसमा केही न केही स्वार्थ हुन्छ नै । अहिले ओली जसपासँग निकट हुनुको कारण सत्ता टिकाउने स्वार्थ मात्रै हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउने माओवादी केन्द्रको खेलमा जसपा पनि सहभागी भएपछि ओलीकै निर्देशनमा लुम्बिनी जसपा विभाजित बनाइएको छ । अब यसको असर केन्द्रमा पनि पर्ने निश्चित छ ।

मुख्यमन्त्री पोखरेलले आफूविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीनजनासहित जसपाका चार सांसदलाई थपेर सोमबार नै मन्त्रिपरिषद् विस्तार गरेपछि रडाको मच्चिएको छ ।

प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको दुई घण्टा नबित्दै पोखरेलले जसपाका विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझीलाई मन्त्री बनाएका हुन् ।

यो विषयले जसपा स्पष्ट दुई चिरामा विभक्त भएको छ । महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँगको सत्ता सहकार्यमा खुसी देखिएका छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव आक्रोशित भएका छन् । मन्त्री बनेका चारजनालाई कारबाही गर्ने कि नभन्ने विषयले नै जसपा विभाजन हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *