देश

संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिकहाँ समावेदन लिएर जाने कांग्रेस र माओवादी केन्द्रको तयारी

काठमाडौं । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भन्ने सूचना पाएपछि प्रधानमन्त्री केपी ओलीले सोमबार दिउँसो १ बजे नै प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपतिकहाँ गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तुरुन्तै सभामुख अग्निप्रसाद सापकोटालाई सम्बोधन गर्दै प्रतिनिधिसभाको चालू अधिवेशनको अन्त्य गरिदिइन् । जबकि संसदको चालू अधिवेशन अन्त्य गर्दा सभामुखसँग परामर्श र छलफल गर्ने परम्परा थियो । तर, ती सबै मानक ओली र भण्डारीले ध्वस्त पारेका छन् ।

संसद् अधिवेशन अन्त्य भएपछि के गर्ने भन्ने कांग्रेस र माओवादी केन्द्रले त्यस्तो कुनै निर्णय गरेका छैनन् । औपचारिक रूपमै दुवै दलले सरकारको कदमको विरोध जनाएका छन् । सरकार संसद्सँग सामना गर्न डराएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली एकपटक पनि प्रतिनिधिसभा बैठकमा नटेकी अधिवेशन अन्त्य भएको छ । यो नेपालको इतिहासमा पहिलो घटना हो ।

सरकारले आफ्नो हठ नछाडेपछि प्रधानमन्त्री ओलीविरुद्ध पहिला अविश्वास प्रस्तावमा औपचारिक सहमति गर्ने, संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्ने र अधिवेशनका लागि राष्ट्रपतिकहाँ समावेदन लिएर जाने कांग्रेस र माओवादी केन्द्रको अबको रणनीति रहेको बुझिएको छ । यद्यपि ओलीले जसपाको एउटा खेमालाई आफू निकट ल्याएकाले विपक्षी दललाई सजिलो भने छैन ।

एमसिसी पारित कसरी र कहिले गर्ने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच अन्तिम सहमति जुटाएर सत्तासमीकरणका लागि अगाडि बढ्ने स्रोतहरू बताउँछन् । त्यसैले देउवाले सोमबार प्रधानमन्त्री ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएर संसद् अधिवेशन अन्त्य गर्ने उनको कदममा असन्तुष्टि जनाइसकेका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जसरी पनि सत्तामा टिक्ने प्रधानमन्त्री ओलीको मानसिकताका कारण हठात् संसद् अन्त्य भएको बताएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भयले प्रधानमन्त्रीले संसद् अधिवेशन अन्त्य गराएको श्रेष्ठको भनाइ छ । ‘अधिवेशन अन्त्य गर्दैमा उनले अब आफ्नो सत्ताको रक्षा गर्ने अवस्था छैन । सत्तालिप्साले उनलाई निरंकुश बनाएको छ । उनले सार्वभौम थलो संसद्को समेत अपमान गरेका छन् । तर, उनी अब कुनै हालतमा सत्ता बचाउन सक्ने अवस्था र अंकगणितमा छैनन्,’ उनले भनेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *