समाचार

लागुऔषध कारोवारको जालो भत्काउन प्रहरी सक्रिय

काठमाडौं । सात वर्षअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा लागुऔषधका २३ वटा मुद्दा दर्ता थिए । आर्थिक वर्ष २०७०/७१ सालमा सबैभन्दा बढी ११ किलोग्राम चरेश प्रहरीले बरामद गरेको तथ्याङ्क पनि छ ।

चरेश, नाइट्रोभेटलगायतका लागुऔषधको कारोवारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेको विगतको तथ्यभन्दा यहाँ खैरो हिरोइन जस्तो उच्चकोटीको लागुऔषध सेवनकर्ता बढ्नुका साथै भारतबाट यसको आयात पनि बढेको प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पछिल्लो केही समययता जिल्लामा लागुऔषधको कारोवारको जालो भत्काउन प्रहरी सक्रिय भएर लागेको बताए ।

चालू आवको चैत महीनासम्मको तथ्याङ्कअनुसार यहाँ प्रहरीले ४२५ ग्राम ५२० मिलिग्राम खैरोहिरोइन बरामद गरिसकेको छ । अरु लागुऔषधभन्दा आर्थिकरुपले पनि महङ्गो पर्ने खैरो हिरोइन सेवन गर्नेमा युवापुस्ता बढी संलग्न देखिएको छ ।

उनका अनुसार खैरोहिरोइनमा प्रहरीले केही महीनायता मात्रै १२२ लाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । “अहिले ७४ वटा मुद्दा प्रहरीमा दर्ता भएर कानूनी कारवाहीको प्रक्रियामा छन्”, उहाँले भन्नुभयो, “खैरोहिरोइन मुद्दामा ७ जना भारतीय नागरिक पनि प्रहरी कारवाहीमा छन् ।”

प्रहरीले भारतबाट लुकिछिपी कञ्चनपुरको बेलौरी, बेल्डाँडी र पुर्नावास क्षेत्रबाट बढी आयात हुने गरेको जनाएको छ । “हामीले लागूऔषधमा कारबाही र समुदायमा सचेतना फैलाउने कार्यक्रम सँगसँगै थालेका छौँ”, उनले भने, “यो बीचमा भारतका लागुऔषध पैठारी गर्ने गिरोहका नाइके पनि पक्राउ परेका छन् ।”

केही महीनाअघि प्रहरीले बेलौरी नगरपालिकामा भारतबाट खैरोहिरोइनसहित नेपालतर्फ आइरहेका भारतीय युवकलाई गोली हानेर हत्यासमेत गरेको थियो । “गस्तीमा रहेको प्रहरीमाथि फाइरिङ गरेपछि जवाफी फायरमा भारतीय तस्करको मृत्यु भएको हो”, उनले भने, “अझै पनि सीमाक्षेत्रमा लागुऔषधको तस्करी गर्ने गिरोह पक्राउपर्ने क्रम जारी छ ।” प्रहरीका अनुसार एक ग्राम खैरोहिरोइनमा २० खुराक (डोज) हुने गर्छ ।

प्रहरीले मुद्दा चलाएका अधिकांश लागुऔषध कारोवारमा संलग्न अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“अहिले लागुऔषध नियन्त्रणका लागि प्रहरीले विद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ”, प्रवक्ता थापाले भने, “लागुपदार्थको लतमा महिला पनि देखिएका घटनाहरु पनि छन् ।”

उनले लागुऔषध मुद्दामा अभियुक्त पक्राउ पर्दा जिल्ला कारागारमा चाप बढेको बताए । “९५ जना राख्ने क्षमता भएको कारागारमा ४१७ जना कैदीबन्दी पुगेका थिए”, उनले भने, “३९ जनालाई तुलसीपुर कारागार स्थानान्तरण गरिएको छ ।”

नेपाल–भारत सिमाना क्षेत्रमा दुवै देशका तस्करको मिलेमतोमा यहाँ खैरोहिरोइन आयात हुने गरेको प्रहरी निष्कर्ष छ । यहाँबाट आयात गरिएको लागुपदार्थ सुदूरपश्चिमका पहाडी जिल्लामा समेत निर्यात गर्ने सञ्जाल रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *