समाचार

भारतमा कोरोना संक्रमण भयावह, २४ घन्टामा झन्डै तीन लाख संक्रमित

काठमाडौं । छिमेकी देश भारत कोरोना संक्रमण रोक्न असफल देखिएको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले भारतको जनजीवन अस्तव्यस्त बनाएको छ । अहिले दैनिक रूपमा कीर्तिमान ढंगले संक्रमित थपिँदै गएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा झन्डै ती लाख मानिसमा संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतमा पछिल्लो एकै दिन २ लाख ९४ हजार २९१ मानिसमा संक्रमण पुष्टि भएको हो ।

भारतमा पहिलो लहरमा सबैभन्दा धेरै दैनिक संक्रमण ९८ हजार मात्र थियो । विश्वभरका देश मध्ये एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो घटना हो । यसअघि अमेरिकामा गत जनवरी ८ मा एकै दिन तीन लाख सात हजार ५७० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा संक्रमितको संख्या थपिएसँगै दैनिक मृत्यु हुनेको संख्यामा पनि नयाँ रेकर्ड बनाएको छ । मंगलबार एकैदिन भारतभर दुई हजार २१ जना संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरस फैलिन थालेपछि भारतमा दैनिक यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलोपटक हो ।
भारतको महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तरप्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *