राजनीति

के माधव नेपाल पक्ष नयाँ दल गठन गर्दैछ ?

काठमाडौं । आन्तरिक किचलोका कारण सत्तारुढ एमाले फुटको संघारमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गर्ने कि पार्टीमै रहेर संघर्ष गर्ने भन्ने निष्कर्षमा पुगेको छैन ।

ओलीले सोधेको स्पष्टीकरणको आज नेपाल समूहका सांसदहरूले जवाफ दिँदैछन् । जवाफ चित्त नबुझेमा कारबाही गर्ने ओलीको तयारी छ । तर, कारबाही गरेर मात्रै नेपाल पक्षका सांसदको पद नजाने भएकाले ओली संकटमा परेका छन् ।

माधव पक्षका सांसदलाई कारबाही गर्दा पनि वा नगर्दा पनि कुर्सी ढल्ने ओलीकै हो । किनभने सांसद पद गुम्न कि अर्को दलको सदस्यता लिनुपर्ने हुन्छ कि त ह्विप उल्लंघन गर्नुपर्ने हुन्छ । माधव पक्षले अहिलेसम्म अरु दलको सदस्यता लिएको छैन । ह्विप उल्लंघन गर्न संसदमा परीक्षण भएकै छैन । सोही कारण के गर्ने भन्ने अन्योलमा ओली समूह देखिएको हो ।

पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ ।

ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको चर्चा पनि चलेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी समाजवादी राख्ने र उपयुक्त चुनाव चिह्नको खोजी भइरहेको एमाले स्रोतले जनाएको छ । तर यस्तो प्रचार ओली समूहबाट आएको बुझिएको छ । किनभने नेपाल पक्षले तत्काल कुनै दल दर्ता गर्ने सोच नबनाएको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *