राजनीति

बुढानिलकण्ठमा बस्दै कांग्रेस पदाधिकारी बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं । १४औं महाधिवेशनको तयारीबारे छलफल गर्न आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बस्दैछ । केहीबेरमै कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुनेछ। गत सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको थियो। जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद बैशाख १५ गते राति १२ बजेसम्म तोकेको छ।

क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, स्थानीय तह, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन आगामी वैशाख १७ गतेभित्र कार्यालयमा बुझाइसक्नु पर्ने कांग्रेसले निर्णय गरेको छ। निर्णयअनुसार कामलाई तीव्रता दिनेबारे आजको बैठकमा छलफल गर्न लागिएको कांग्रेसका एक नेताले बताए ।

पदाधिकारी बैठकले एउटा टुंगो लगाएपछि मात्र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *