समाचार

कांग्रेस पदाधिकारी बैठकमा चाँडै नयाँ सरकार गठन हुने देउवाको ‘ब्रिफिङ’

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल केन्द्रित भएको छ ।

आजको पदाधिकारी बैठकमा १४औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल हुने एजेन्डा रहेको बताइएको थियो । तर, बैठक सुरु भएको केही समयमै पार्टी सभापति देउवाले अबको केही दिनभित्रै मुलुकको राजनीतिले कोल्टे फेर्ने विश्लेषण सुनाएका थिए ।

माओवादी केन्द्र र जसपासँगको निरन्तरको वार्ता फलदायी भएकाले केही दिनमै ओली नेतृत्वको सरकार विस्थापित हुने उनको ब्रिफिङ थियो । देउवाले जसपाको एउटा समूहले प्रधानमन्त्री ओलीलाई नै सघाउने अडान लिँदै आए पनि अन्तिममा सो पार्टीमा संकट आउन सक्ने भन्दै जसपा विभाजित हुन सक्ने बताएका थिए । उनले नेकपा माओवादीले ओली सरकारलाई दिँदै आएको समर्थन छिट्टै फिर्ता लिने पनि बताएका थिए ।

माओवादी केन्द्रले बुधबार नै ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।
काँग्रेसले यसअघि नै केन्द्रीय समिति बैठकबाट ओली सरकारको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरिसकेको छ । जसअनुसार काँग्रेसले केही चरण जसपा र माओवादी केन्द्रसँग छलफल गरिसकेको छ ।

यसैबीच, एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेका छन्। देउवालाई भेट्न खनाल र नेपाल मंगलबार अपराह्न बुढानीलकण्ठ पुगेका थिए।

देउवाको निजी निवासमा भएको भेटवार्तामा नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको स्रोतले जानकारी दियो। कांग्रेस सभापति देउवा पछिल्लो समय भावी सत्ता समीकरणबारे नेताहरुको छलफलमा ब्यस्त छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *