कर्णाली प्रदेश

प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

खलङ्गा । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमअर्न्तग विभिन्न खाद्य सामग्री तथा लत्ता कपडा एवं सरसफाइका सामग्री उपलब्ध गराइएको छ । उपाध्यक्ष विष्णु बुढाका अनुसार गर्भवती र सुत्केरीलाई धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकाट, नुहाउने साबुन र झोला दिने गरिएको छ ।

पालिकाको चालू आव २०७७÷७८ नीति तथा कार्यक्रममा नै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो ।

गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, पारिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ । कार्यक्रमका लागि १५ लाख विनियोजन भएकोमा अपुग देखिएपछि थप १० लाख आवश्यक रहेको उपाध्यक्ष बुढाले बताए ।

असार मसान्तसम्म एक हजार १ सय ७७ गर्भवती तथा सुत्केरीलाई पोषण कोसेली उपलब्ध हुने उपाध्यक्ष बुढाले भनिन्, “नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरीलाई प्राथमिकतामा राखिएको छ ।

कार्यक्रमबाट खासगरी विपन्न वर्गका महिलाले निकै राहत महशूस गरेका छन् । घर आँगनमै पोषिलो कोसेली पाउँदा निकै खुसी भएको तिला गाउँपालिका– २ की मधु परियारले बताइन् ।

एक छोरा एक छोरीको आमा बनेकी परियारले भनिन्, “स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले गर्भवतीलाई निकै राहत पुगेको छ ।’’

सुनौला हजार दिनका आमालाई उपाध्यक्ष पोषण कोसेली कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको स्थानीयवासी सरस्वती रोकायाले बताइन् ।

गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको रोकायाले बताइन्।

उनी भन्छिन्, “गरिबी र अशिषाका कारण यहाँका महिलामा कार्य बोझ निकै छ । पोषिलो खानेकुरा त के राम्रोसित आराम पनि पाउँदैनन् । उनीहरु अधिकांशको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ ।’’

उपाध्यक्ष कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरीको समयमा अपनाउनु पर्ने सावधानी र आवश्यक पोषणको महत्वका बारेमा गराएको जानकारीले शिशु तथा मातृमृत्यु दरलाई पनि कम गर्न सकिने निकै महत्वपूर्ण सन्देश दिएको छ । गर्भवतीलाई सचेत बनाएको रोकायाले बताइन् ।”

आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोसेली कार्यक्रम प्रभावकारी भएको वडाध्यक्ष कलिबहादुर रावतले बताए । गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूलमन्त्रलाई अघि बढाएको छ ।

दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पत्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढाले बताइन् । गत आवमा नियमित गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोसेली दिइएको थियो ।

पोषण कोसेली लिएर उपाध्यक्ष बुढा यतिबेला गाउँगाउँमा पुग्न थाल्नु भएको छ । सो अवसरमा अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी बच्चा नजन्माउनका लागि सुझाव र राय सल्लाह दिने गरेकोे उनको भनाइ छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *