समाचार

बल्खुमा एमालेको यस्तो बन्दैछ केन्द्रीय कार्यालय

काठमाडौं । बल्खुस्थित मदननगरमा एमालेको नयाँ पार्टी कार्यालय बन्ने भएको छ । सो भवनको प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहान शिलान्यास गरेका छन्। भूकम्पबाट भत्केको पार्टी कार्यालय रहेको जग्गामा नयाँ भवन निर्माण हुन लागेको हो ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर भवन निर्माणका लागि शिलान्यास गरिएको हो। १३ रोपनी जग्गामा निर्माण हुने अत्याधुनिक भवनको डिजाइन तयार भइसकेको एमालेले जनाएको छ । नेकपाकालमै भवन निर्माण गर्ने भनिए पनि पार्टीभित्रै किचलो भइरहेकाले थाति रहेको रहेको थियो । दुई महिनाभित्र माटो परीक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुने र त्यसपछि निर्माण सुरु गरिनेछ । दुई वर्षभित्र भवन निर्माण सकिने बताइएको छ । एमालेले कार्यालयको क्षेत्र विस्तार गर्ने योजना पनि बनाइरहेको छ ।

एमालेको नयाँ बन्ने भवन नेपालकै अहिलेसम्मको अत्याधुनिक पार्टी कार्यालय हुनेछ । सभाहल, बैठक कक्षसहित पर्याप्त पार्किङको सुविधा हुने गरी भवनको डिजाइन गरिएको छ । मदननगर बल्खुमा अवस्थित जननेता मदन भण्डारीको शालिक नयाँ भवनको अगाडि पनि कायमै रहने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *