समाचार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका एक साताका लागि बन्द

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द हुने भएको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले कार्यालय बन्द रहने भएको हो ।

नगरपालिकाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले नगरपालिका बन्द गरिने जानकारी दिइएको छ । नगर कार्यपालिकाको बिहीवार बसेको बैठकले यही वैशाख १० देखि १७ गतेसम्म बन्द रहने सूचना प्रकाशित गरेको छ ।

नगरपालिकाभित्रका स्वास्थ्य शाखा र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका अन्य सेवा बन्द रहने नगर प्रमुख अब्दुल कलाम र प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाका सबै वडा कार्यालय तथा स्वास्थ्य संस्था यथावतरूपमा सञ्चालन हुने सूचना अधिकारी बृजेश चौधरीले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *