राजनीति

मेरिट होटलबाट निस्केन एमाले जोड्ने रसायन

काठमाडौं । मेरियट वार्ताले एमाले जोड्ने रसायन निकाल्न सकेन । अन्ततःप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली असन्तुष्टहरुलाई समेट्ने होइन, भोलिबस्ने केन्द्रीय समितिको बैठकले २७ जना सांसदको पद खोसिएको घोषणा गर्ने मुड बनाएर निस्के ।

यता वरिष्ठ नेता माधवकुमार नेपाल बैठक सकिएपछि पनि पार्टी अध्यक्ष ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग थप १५ मिनेट आफ्नो गुनासो पोखेर बाहिरिएका थिए ।

होटलबाट बाहिरिदै गर्दा नेता नेपालको मुहारमा कुनै चमक देखिँदैन थियो । निराश र उत्साहहिन माधव नेपालको अनुहार जोकोहीले सजिलै पढ्न र बुझन सक्थे । संवाददातालाई टाढैबाट दुई शब्दको प्रतिक्र्रिया दिएर गाडी चढेर उनी मेरिटबाट उपत्यका छोड्न सिधै एयरपोर्ट हानिए ।

एमाले शीर्ष नेताहरुबीच चरम अन्तरविरोध चलिरहेकै बेला हिजो एक्कासि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको वार्ताले पार्टी नयाँ रक्तसञ्चार भएको थियो । दुई नेताबीचको वार्ताले पार्टीलाई फुटबाट जोगाउन नयाँ रसायन निकाल्न सफल हुन्छन भन्ने एमाले कार्यकर्ताको अनुमान थियो, तर आज अध्यक्ष ओली र नेता नेपालबीच सम्पन्न वार्ताले त्यो अनुमान गलत सावित गरिदियो ।

सबैलाई समेटेर लैजानुहोस् भन्ने वरिष्ठ नेता नेपालको आग्रह तथा त्यसभन्दा अघि समानान्तर गतिविधि त्याग्न पार्टी अध्यक्ष ओलीको निर्देशनलाई वार्ताको एजेन्डा बनाएका थिए । यो एजेन्डामा कुनै सहमति नभएपछि थप आक्रोसित भएर प्रधानमन्त्री ओली बैठकस्थलबाट निस्केका थिए । चाउरिएको मरिचजस्तो अनुहार पारेर बैठकस्थलबाट निस्केका नेता नेपाल सिधै एयरपोर्ट पुगेर जनकपुरको जहाजमा चढे ।

भोलि शुक्रबार नेता नेपाल प्रदेश २ को विभिन्न कार्यक्रममा सहभागी हुँदै गर्दा एमाले केन्द्रीय कमिटीको बैठक २७ जना सांसदको पद रिक्त रहेको जनाउ संसद सचिवालयमा दर्ता भयो भने कुनै अनौठो हुने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *