राजनीति

गण्डकीमा एमालेका दुई र कांग्रेसका एक सांसदलाई कोरोना

पोखरा । गण्डकी प्रदेशका तीन सांसद र एक कर्मचारीमा कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोइराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो।

प्रयोगशालाका अनुसार मंगलबार स्वाब संकलन गरिएका १५३ मध्ये चारजनालाई पोजेटिभ देखिएको हो। एमाले सांसदहरूले मंगलबारको बैठकमा पिसिआर परीक्षण गर्न माग गरेका थिए । पोजेटिभ देखिएका राजीव पहारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूको पीसीआर परीक्षणको माग गरेका थिए।

गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भएअनुसार अब तीनजना सांसदले संसदमा बोल्न पाउने छैनन्। तर उनीहरूले मुख्यमन्त्री पृथ्वीसुबा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन्।

सांसदहरूलाई कोरोना भए पनि बैठक भने जारी रहने सहमति भएको छ । जसले गर्दा आजै मुख्यमन्त्री गुरुङको पद जाने कि जोगिने भन्ने टुंगो लाग्ने छ । गण्डकी प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा आज केही सांसदले आफ्नो धारणा राख्ने र मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यसपछि प्रस्तावमा मतदान हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट