समाचार

कोभिड–१९ उपचारमा गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन

काठमाडौं । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरले कोरानाबाट सङ्क्रमितलाई गुणस्तरीय एवं विश्वसनीय सेवा सुविधा दिन निर्देशन दिएकी छन् ।

मन्त्रालयमा बिहीबार यहाँ आयोजित कोशी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीसँग भएको बैठकमा प्रदेशमा केन्द्रले उपचार कार्यमा उदाहरणीय कार्य गरेर देखाउनुपर्नेमा जोड दिइन् । मन्त्री राईले निजी अस्पतालमा नभएको सेवा सुविधा एवं स्वास्थ्य सामग्री केन्द्रमा रहेकाले सोही अनुसार नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरिन्। अस्पतालमा भर्ना भएकाहरूबाट उपचारका सम्बन्धमा कुनै गुनासो नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारद्वारा सञ्चालित केन्द्रले राम्रो एवं गुणस्तरीय उपचार सेवा दिन्छ भन्ने महसुस सङ्क्रमित र परिवारले महसुस गराउनुपर्नेमा आवश्यकता औँल्याइन्।

प्रदेश सरकारसँगको सहकार्यमा निजी क्षेत्रले तयार गरी गत पुस ५ गते हस्तान्तरण गरेको नागरिक हेरचाह केन्द्रमा शुक्रबारदेखि सङ्क्रमितको उपचार शुरु गरिने जानकारी दिँदै मन्त्री राईले आवश्यक जनशक्तिको व्यवस्थापन गर्न पनि निर्देशन दिइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *