विचार

जताततै मनाङ्गे प्रवृत्ति

प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिन चुक्ने नेकपा माओवादी केन्द्र, अविश्वासको प्रस्तावमा सहीछाप गर्ने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सदस्यहरुलाई तत्काल मन्त्री बनाउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री गैर सांसदलाई मन्त्री बनाउने प्रधानमन्त्री, गुण्डानाइकेलाई मन्त्री बनाउने गण्डकी प्रदेशका मुख्यमन्त्री सक्कली-नक्कली कोरना रिर्पोट बनाएर अस्पतालमा भर्ना हुने सांसद, सांसद विघटन, पुनस्र्थापनाजस्ता घटनाक्रमहरुले नेपालको संसदीय शासन व्यवस्थाको हुर्मत लिएको छ ।

बहुदलीय संसदीय शासन व्यवस्थाको नेतृत्व कम्युनिष्टहरुले गर्दा के हुन्छ भन्ने दृष्टान्त खोज्न अब अन्यत्र जानु परेन । चौध वर्ष जेल जीवन बिताएको दाबी गर्ने प्रधानमन्त्री ओलीको वास्तविक अनुहार आम जनताले स्पष्ट देख्ने मौका पाए । एमाले–माओवादी एकताको अन्तर्यमा के रहेछ भन्ने पनि जानकारी प्राप्त भएकै हुनुपर्छ । मधेशवादी दलहरुको स्वार्थ सत्ताभित्र वा बाहिर कसरी प्रकट हुन्छ भन्ने अनुभव पनि पटक पटक महसुस गरियो । सत्ता र शक्ति भन्ने चीज कति खराब रहेछ भन्ने राम्रैसँग अनुभूत गर्ने अवसर प्राप्त भएको छ । नेपाली जनतालाई चरम निराशा बनाउने यी र यस्ता गतिविधि र घटनाक्रमले नेपाली राजनीतिमा मौलाएको र फस्टाएको गुण्डानाइके दीपक मनाङ्गे प्रवृत्तिको पर्दाफास भएको छ ।

वास्तवमा दीपक मनाङ्गे खराब होइनन् । त्यो प्रवृत्तिलाई स्थापित गर्ने राजनीतिक नेतृत्व खराब हो । निर्वाचित गर्ने जनता (मतदाता) खराब हुन् । राजनीतिले कस्तो प्रवृत्तिलाई रुचाएको छ ? कस्ता पात्र र प्रवृत्तिलाई महत्व दिएको छ ? हरेक राजनीतिक पार्टीमा मनाङ्गे प्रवृत्ति हाबी र निर्णायक छ । त्यही प्रवृत्तिको बोलवाला छ । त्यस्तै चरित्र र स्वभाव भएको व्यक्तिहरुको छनोट र माग हुन थालेको छ । जसले खर्च गर्छ खुवाउँछ, मिलाउँछ, डाङडाङ डुङ डुङ गराउँछ, तर्साउँछ, आतंक सिर्जना गर्छ र इमान्दार योग्य एवम् सक्षम व्यक्तिलाई विस्थापित गर्छ उसलाई नै रुचाउने वातावरण बन्दै गएको छ । यस्तो वातावरण एकाएक बनेको होइन ।

लामो संघर्ष, त्याग र बलिदानपश्चात प्राप्त भएको बहुदलीय शासन व्यवस्थाको अभ्यासका क्रममा राजनीतिक नेतृत्वले निर्वाह गरेको भूमिका र छनोट गरेका व्यक्तिहरुको प्रभावका कारण राजनीतिमा मनाङ्गे प्रवृत्तिको आकर्षण बढेको हो । अवैद्य रुपमा जम्मा गरेको पैसा खर्च गरी नेतृत्वलाई प्रभावमा पार्ने, आतंक मच्चाइ आम मानिसलाई तर्साउने र निर्वाचन जित्न प्रयोग गरिने यस्तै प्रवृत्तिका मानिसहरुले क्रमशः आफ्नो भूमिकालाई विस्तार गर्दै निर्वाधक स्थान हासिल गरेका हुन् ।

जसरी पनि सत्ता पाप्त हुनुपर्छ प्राप्त भएको सत्ता जोगिनुपर्छ, आफू राजनीतिको केन्द्रविन्दूमा रहनुपर्दछ भन्ने नेतृत्वको मानसिकता र बुझाइको कारण डन प्रवृत्ति राजनीतिक नेतृत्वको संरक्षणमा फस्टाएको देखिन्छ । उनीहरु सरकार कसरी सञ्चालन गर्नुपर्छ जनतालाई के कस्तो सेवा विस्तार गर्नुपर्छ भन्ने सिकाउने तहमा पुगेका छन् । दीपक मनाङ्गेलाई त पहिला एमालेले टिकट नै दिएको हो, विरोध भएपछि स्वतन्त्र रुपमा उठाएर समर्थन गरेर जिताएको स्पष्ट नै छ । उनलाई निर्वाचित हुन सहयोग पु¥याउने एमालेले सरकार बचाउन मन्त्री बनाउनु कुन चाहिँ अपराध हो ?

आफ्नो पार्टीका इमान्दार, असल, लामो संघर्षका सहयात्रीहरुलाई पाखा लगाउनु नेतृत्वमा रहेका व्यक्तिहरुले यो प्रवृत्तिलाई स्थापित गरेका छन् । आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने भएपछि जुनसुकै हर्कत गर्न पछाडि नपर्ने, असजिलो नमान्ने नेतृत्वको कारण राजनीतिमा अपराधिकरण भित्रिएको हो । राजनीति सेवा नभएर व्यापार, व्यवसाय, बनेको छ । विचौलिया, ठग, तस्कर माफिया, जग्गा व्यवसायी, मानव तस्कर, गुण्डा नाइके, व्यापारी ठेकेदार त्यसै राजनीतिमा आएका होइनन । उनीहरुलाई नेताहरुको बारेमा जति स्वागत, सरकार आतिथ्यता हुन्छ त्यो इमान्दार निष्ठावाला र त्यागी राजनीतिज्ञलाई हुँदैन ।

कहिलेकाहिँ बाध्यताले नेताहरुको घरमा पुग्दा त्यस्तो प्रवृत्तिले पहिलो प्राथमिकता पाएको र हिजोका सहयोगीहरु अपमानित भएको मैले पटक पटक महसुस गरेको छु । दुईचार पैसा भएको, खर्च गर्ने, राजनीतिक संस्कार नभएको ठग मानिस जति रुचाइएको छ । त्यत्ति निष्ठा, आदर्श र सिद्धान्तमा प्रतिबद्ध व्यक्ति अपमानित हुने गरेको छ । यसमा सबै दोषी छन् । बन्नेभन्दा बनाउने धेरै गुण दोषी छन् । योग्यता भनेको नै उसको केही न केही उपद्रो गरेको हुनुपर्याे, गर्न सक्ने हुनुपर्‍याे । असुल्न सक्ने, असुलेर बुझाउन सक्ने, नक्कली आवरणको बनावटी चरित्रलाई समाजले पनि रुचाएको र पत्याएको नेतृत्वले महत्वपूर्ण स्थान उपलब्ध गराएको छ । जसले गर्दा राजनीतिप्रति नै वितृष्णा बढाउने र नेतृत्वमा रहेका मानिसहरुलाई अपमानित हुनुपर्ने अवस्था निम्त्याएको छ । जसलाई स्वीकार गरी सुधार होइन त्यही व्यवहारलाई निरन्तरता दिन हाम्रो राजनीतिक नेतृत्व अग्रसर छ ।

हामीले पढेको राजनीतिक पाठयपुस्तक यस्तो थिएन, पढाउने शिक्षक पनि यस्ता थिएनन र विद्यालय पनि यस्तो होइन । निष्ठा, आदर्श, चरित्र, संस्कार संस्कृतिमा आधारित पाठ्यपुस्तक पाठ्यक्रम, विद्यालय र शिक्षकबाट दीक्षित भएर होला यस्ता प्रवृत्तिलाई स्वीकार गर्न नै सकिँदैन । इमान्दारिता र सरलतालाई कमजोरी ठान्ने डनहरु यो वास्तविकता स्वीकार गर्न चाहदैनन । नेतृत्व आफ्नो अनुकुलताको लागि अवैद्य रुपमा रहेको साधन र श्रोतवालाहरुलाई रुचाउँछ, पत्याउँछ ।

तलदेखि माथिसम्म यस्तै प्रवृत्ति हाबी भएको छ । राजनीति फेसन भएको छ । कसले राम्रो र महँगो जीवनशैली अपनाउने र प्रदर्शन गर्ने भन्ने होडबाजी चलेको छ । सामाजिक सञ्जालमा फिजाएर आफ्नो यथार्थता र असुलियत देखाउन अग्रसर देखिन्छ । यसले उसकोमुखन्डो त उतारेको छ, तर पनि उसले आफू ठूलो मान्छे भएको पाखण्डीपन, छोडेका छैन ।

राजनीतिको सामान्य अर्थ पनि नबुझेको व्यक्ति जिम्मेवारीबाट विभूषित भएपछि प्राप्त हुने नतिजा मनाङ्गेहरुको उदय नै हो । जहाँ इमान, त्याग, संघर्ष र इतिहास नामेट हुन्छ नै । भ्रष्ट, दलाल र तस्करहरु निर्वाचनमा देखिन्छन् । अनि त्यस्तो अवस्थालाई ‘साधुलाई सुली चोरलाई चौतारो’ नभने के नामाकरण गर्ने ? जुनसुकै दल वा पार्टी भए पनि जबसम्म नेतृत्वले आफूलाई सच्चाएको सुनिश्चित प्रदर्शन गर्न सक्दैन, सबै अनिश्चित नै हुनेछ ।

संसदले वैकल्पिक सरकार दिनसक्ने अवस्था पनि आउने देखिँदैन । के का लागि सरकार परिवर्तन ? कसैको तेजोबध गर्न मात्र वा बदलाको लागि मात्र ? त्योभन्दा अगाडिको मार्गचित्र स्पष्ट नभएसम्म हुने प्रयास अर्थहीन हुने देखिन्छ । सिंगो मधेशवादी दल वैकल्पिक सरकारको पक्षमा नआउँदासम्म ओलीको बहिर्गमन सम्भव छैन । सरकार जोगाउन कुनै कसर नराख्ने संकेत त ओलीले गरि नै सके । यति तलसम्म ओर्लिन सक्ने भएपछि त्यहाँभन्दा तल झर्ने ठाउँ अन्य दललाई बाँकी रहला वा नरहला ?

म अझै कांगे्रसका पुराना इमान्दार असल र सरल नेता देवी न्यौपानेको निधनले पारेको प्रभावबाट मुक्त हुन सकेको छैन । न्यौपाने जुन पद्धतिका खातिर लामो संघर्षमा होमिनु भयो, त्यही पद्धतिमा अवसर पाउने प्रवृत्ति र दण्डित हुने पात्रको लेखाजोखा मनमस्तिष्कले गरिरहन्छ । मनलाई शान्त बनाउन कठिन भइरहेको अवस्थामा देखिएको दृश्यहरुले कम्तिमा यस्तो गएगुज्रेको घटनाबाट पीडित त हुनुपरेन जस्तो पनि लाग्छ । अप्रत्यासित र अनपेक्षित घटना भएकोले त्यसको असर लामो नै देखिएला । समय, परिस्थिति यति बलवान रहेछ कि कसैलाई नछोड्ने रहेछ । न्यौपानेजस्ता त्यागी र इमान्दार मानिसहरुमाथि अन्याय गर्नेहरु कुनै दिन दण्डित भएको पनि देख्नु, सुन्नु पर्ला । यो चाहिँ निश्चित हो कि राजनीतिले निष्ठा, त्याग र इमान्दारितामाथि कठोरता देखाएकोले गलत प्रवृत्ति फस्टाएको हो । यो प्रवृत्ति यस्तो हुन्छ जसले उसलाई स्थापित ग¥यो, त्यसलाई नै विस्थापित गरिदिन्छ । थोरै पनि सकरात्मक सन्देश दिएको छैन । कुनै न कुनै दिन इमान्दारिताको मार्गमा फर्कनु नै पर्नेछ । त्यतिबेलासम्म निक्कै ढिलो भइससक्ने छ भन्ने चिन्ता मात्र हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *