फिचर

पाउरोटी उद्योगमा जमेका नियात्राकार राजकर्णिकार

नेपालमा राणाकालीन परिवेशका आखिरी वर्षहरूमा नयाँ स्वादको एउटा रोटी पाइन थाल्यो, पाउरोटी । त्यही पाउरोटीलाई नेपाल भित्र्याएकाे परिवार थियो राजकर्णिकार परिवार र त्यसका संस्थापक थिए कृष्णबहादुर राजकर्णिकार । तीनै कृष्णबहादुरको पाउरोटीले प्रजातन्त्रको स्थापनापश्चात नेपाली समाजमा स्वादको हिसावमा प्रसिद्धि पाउन थाल्यो र आजसम्म पनि पाइरहेकै छ । उनै कृष्णबहादुरले स्थापना गरेको कृष्ण पाउरोटी भण्डार आज पनि हात्तीसार कमलपोखरी मोडमा छ नै । तर, स्वयम् कृष्णबहादुर छैनन्पा,उरोटी बनाउन र बेच्नमा व्यस्त, केवल उनको सीप, याद र स्मरण मात्र बाँकी छ । त्यसो त उनको सालिक निर्भिक उभिएकै छ, त्यही कृष्ण पाउरोटी भण्डारको आडमा । अनेकौं आरोह अवरोह पार गरेको नेपालकै सबैभन्दा पुरानो पाउरोटी भण्डारका मालिक तीनै कृष्णबहादुरका कान्छा छोरा घनश्याम राजकर्णिकारका सुकर्मका उपार्जनले कृष्णबहादुर जीवित छन् र यो उनको जीवन शायदै अर्को पुस्तामा पनि फल्ने, फुल्ने र फक्रने छ । सेतै फुलेका घनश्याम अब रिटायर्ड छन्, सक्रिय व्यवसायबाट । तर, साहित्य उपार्जनमा नवीनतम् नियात्राका भ्रुणहरू उमार्न उद्दत उनी तन्नेरी र जवान छन् ।

‘पचास वर्षदेखि साहित्यमा अविराम नियात्रा लेख्दै आएको छु । यो कौमार्य (Virgin) विधा थियो जसलाई ब्रेक गरेको सायदै म आफूले हुँ ।’ घनश्याम भनिरहेका छन्, ‘अब अरु विधाहरू लेख्न थालौं भने पाठकहरूले अश्वभाविक मान्छन् र आफ्नो विशिष्टिकृत पहिचान बाँडिन्छ, जनार्दन समको झैं ।’ हुन पनि हो, उनी आफूले जे भोग्छन्, त्यसैको उल्लेख गर्छन् । जस्तो महसुस आफूले गर्दछन् त्यसैलाई जस्ताको तस्तै उतारिदिन्छन् र आफू सँगसँगै आफ्नो यात्रामा पाठकलाई डोर्याउँछन्, पाको र दिग्गज अभिभावकले आफ्नो कान्छी औंला समाउन लगाएर नातीनातीनालाई डोहोर्याएझैं । समयको सेरोफेरोमा आठ दशक उमेरका यी लेखक नियात्रा विधामा एकानस लागिरहनु चानचुने कुरा होइन ।

घनश्यामलाई रुचीसाथ पढ्ने धेरै छन्, बुझ्ने धेरै छन् । जसले साहित्यकारका वा नियात्राकारका रूपमा उनलाई बुझेका छन् उनीहरूले पनि उनलाई कृष्ण पाउरोटीका मालिकका रूपमा चिनेका छन् नै । तर, जसले कृष्ण पाउरोटीका मालिकका रूपमा उनलाई चिनेजानेका छन् उनीहरू धेरैले साहित्यकारका रूपमा घनश्यामलाई चिनेकै छैनन्, सायद । सक्रिय व्यवसाय र सक्रिय लेखनीमा बानी परेका उनी साहित्य पठन र लेखनको शुरुका दिनरुलाई सम्झन पुग्छन्, ‘मैले साहित्य लेख्न थालेको ०२१–२२ सालदेखि हो । त्यसबेला म जे पनि लेख्थें । कविता, कथा, संस्मरण । इकोनोमिक्समा एम् ए गरेको मैले आर्थिक निबन्धहरू पनि लेख्थें ।’

विक्रमको २०२५ सालमा एम्.ए. गरिसकेका घनश्यामले साहित्य सिर्जना गर्न थालेको चाहिँ बीए. पढ्दादेखि नै हो । २०२४ साल असार १० गते उनको पहिलो रचना एकांकी ‘मिलनको क्षण’ छापियो । शुरुका दिनहरूमा प्रेरणदायी लेखहरू लेख्ने बानी परेका उनको पछि नियात्रासँग प्रेम बस्यो । लेख्न मात्र नभएर पढ्न पनि त्यस्तै विधाहरूको खोजी हुन थाल्यो । उनी ती दिनहरूलाई गम्भीरतासाथ स्मरण गर्दछन्, ‘त्यो बेला म सबैजसो विधा लेख्दै थिएँ । २८–२९ सालतिर मेरो माधवलाल कर्माचार्यसँग सम्पर्क भयो । त्यसबेला नै समालोचकको छवी बनाइसकेका उनले पत्रपत्रिकामा छापिएका मेरा लेखर रचनाहरू पढिसकेका रहेछन् । एकदिन उनले मलाई सुझाव दिए, तपाईंको नियात्रा राम्रो छ, नियात्रामा केन्द्रित हुनु भनिकन । उनी जत्तिको समालोचक र आफूभन्दा सिनीयर मानिसले दिएको सुझावले उत्प्रेरित र प्रभावित हुनु मेरो लागि सौभाग्य थियो ।’

एकदिन नाटककार बालकृष्ण समका छोरा जनार्दन सम सम्बन्धी कसैले लेखेको आलेखले उनको ध्यान खिच्यो । त्यो आलेखमा जनार्दनले धेरै विधामा हात हाल्दा आफ्नो विशिष्टीकृत पहिचान लोप हुन गएको विषयलाई प्राथमिकता दिइएको थियो । घनश्यामले त्यो पढेपछि र माधवलाल कर्माचार्यको सुझाव ग्रहण गरेपछि स्मरण गर्न पुगे ‘समले धेरै विधामा हात हाल्न पुगे, तर कुनै एक विधामा विशिष्टीकृत पहिचान बनाउन सकेनन् । उनी अभिनय समेत गर्ने गर्दथे, साहित्य सिर्जना गर्दथे तर उनको परिचय खोज्यो भने फेरि उनी कला र साहित्यको कुनै एक विधामा केही पनि होइनन् । उनको पहिचान नै देखिएन । न उनले आफ्नो मेहनत अनुसारको फल नै प्राप्त गर्न सके ? उनी न गीतकार बने ? न नाटककार, न अभिनयकर्ता नै ? कथा लेख्यो कथाकार होइन, कविता लख्यो कवि होइन । यस्तो कुनै एक विषयमा अड्न नसकेपछि ठूलो समस्या उत्पन्न हुँदो रहेछ ।’ यो परिस्थितिलाई नजिकबाट नियालेका घनश्यामलाई उसैबेला लाग्यो, ‘ओहो ! कतै मेरो पहिचान नै त गुम्दैन ? साहित्य फाँटमा कतै म हराएर त जाँदिन ? अब पक्कै मैले माधवलाल दाइको सुझाव अनुसार नै एक विधामा केन्द्रित हुनुपर्छ । यसैमा मेरो उदेश्य पूर्ति हुन्छ र आनन्द मिल्छ मनमा ।’ विशिष्टीकृत पहिचानको खोजीमा रहेका घनश्यामलाई यस्ता कुराले मनभित्रै छोयो र उनले एउटै विधामा आफ्नो सम्पूर्ण ध्यान लगाउने निर्णय गरे र लागे नियात्रा लेखनतर्फ । जहाँ निजात्मक कुराहरूलाई सिलसिलेबर गर्न लालायित गरिरहन्थ्यो उनलाई ।


विक्रमको २०२६ सालमा प्राध्यापक बालकृष्ण पोखरेलले न्वारन गरेको विधा हो नियात्रा । जुनबेला ताना शर्माको बेलायिततिर बरालिँदा पुस्तक प्रकाशन भयो । उक्त कृतिमा संस्मरणमाजस्तो वर्णन मात्र थिएन, निजात्मक अनुभूतिको भूमिका उल्लेख्य थियो, त्यही हेरेर घोत्लिन पुगे प्रा. पोखरेल र त्यसको कर्मकाण्ड गरिदिए उनले । विश्वमा कहीँ कतै नियात्राको बारेमा उल्लेख छैन, छ त ट्राभलर विधा जहाँ यात्राको वर्णन पाइन्छ । त्यो भएकाले पनि यो विधालाई टिपिकल नेपाली विधाका रूपमा व्याख्या गर्ने यथेष्ट ठाउँहरू छन् । जुन विधामा निजात्मक अनुभूति र प्रतिक्रिया हुन्छन् । यात्रासंस्मरणको जस्तो कोरा यात्रा वर्णन हुँदैनन् ।

२८–२९ सालतिर नियात्रा भन्नु नै कौमार्य (Virgin) विधा थियो । त्यसबेला नियात्राकार औंलामा गन्न सकिने थिए । त्यही मध्येका एक थिए घनश्याम राजकर्णिकार, उनी बताउँछन्, ‘म नियात्रामै लागिपरेँ । त्यही लेख्दै गएँ, नियात्राकारकै रूपमा चिनिन पनि थालेँ र नियात्रा लेखनको करिव १० वर्षपछि मात्र मैले पहिलो नियात्रा संग्रह विदेशको यात्राः स्वदेशको सम्झना प्रकाशन गराउन सकेँ । त्यसलाई धेरैले मन पराए । त्यसपछि घनश्याम पनि साहित्यकार रहेछ भन्न थाले, मेरो बारेमा चर्चा हुन थाल्यो । अनि मलाई हौसला बढ्यो । एक त माधवलाल दाइले भन्नु, अर्को कुरा सम सम्बन्धी लेखिएको लेख पढ्नु, तेस्रो कुरा चाहिँ आफ्नो नियात्राकारको रूपमा पहिचान हुनुले मलाई अझ यो विधातर्फ प्रोत्साहित र आकर्षित गर्यो ।’

२०२७ सादलेखि नै नियात्रालाई निरन्तर जन्माउने, हुर्काउने, पालणपोषण गर्ने काम गर्दै आइरहेको बताउने राजकर्णिकार नियात्रालाई यसरी परिभाषित गर्न पुग्छन्, ‘नियात्रा भनेको आफ्ना अनुभव र अनुभूतिलाई कलात्मक ढङ्गबाट प्रस्तुत गर्ने विधा हो । त्यसमा कोरा वर्णन हुनुहुन्न । आफ्नो आलोचनात्मक दृष्टि, आलोचनात्मक प्रतिक्रिया, र विशिष्टिकृत ठाउँको कला, संस्कृति, ऐतिहासिक, सामाजिक पाटो पनि झल्काउनु पर्छ । मुख्य कुरा भनेको यसमा उत्सुकता जगाउन सक्नुपर्छ । त्यसले नै पाठकलाई आकर्षण गर्ने हो । उत्सुक्ता जागेन भने पाठक आकर्षित हुँदैनन् र नियात्राको जीवन समाप्त हुन्छ ।’ त्यसो त नियात्रामा विशेष रूपले यात्रा गरिएको ठाउँको जीवन समेटिएकाले पनि जीवन जीवित भएर रहेको त हुन्छ नै उनका नियात्रामा व्यक्तिगत धारण प्रस्ट्याएको यात्रानुभूतिलाई कलात्मक श्रृङ्गार भर्दछन् पनि । उनी आफ्ना नियात्राको लेखन शैलीका बारेमा बताउँछन्, ‘म के गर्छु भने, आफू सँगसँगै पाठकलाई डो¥याउन खोज्छु । आफूले जुन अनुभव, जुन अनुभूति गरेको छ त्यससँगै तानेर पाठकलाई लैजाँदा नियात्रा विधा सार्थक हुन्छ झैं लाग्दछ । सत्यता मूल मियो हो नियात्राको । त्यसबाहेक आफ्ना कमी, कमजोरी पनि छलङ्ग पार्न सक्नुपर्छ पाठकहरूमाझ ।’


जसरी साहित्यको नियात्रा विधासँग उनको परिचय गाँसिएको छ र एक विधाप्रति स्पष्ट छन् त्यस्तै व्यवसायिकतामा पनि उनी स्पष्ट छन् । त्यसो त साहित्यमा लाग्दा उद्योग र व्यवसायमा हानी भएको र साहित्य सिर्जनाको गतिलाई ब्रेक लगाउनु परेको अनि व्यवसायमा तल्लीन हुँदा पारिवारिक झमेलाले कृष्ण पाउरोटीको अस्तित्व मेटिने अवस्था सिर्जना भएको तीतो कटुता बेहोरेका उनले आफ्नै मेहनत र पौरखले कृष्ण पाउरोटी भण्डारलाई पुनर्जीवन दिएका हुन् । अब जीवनका उत्तर्राद्धतिर लागेका उनी व्यवसायबाट पूर्ण रूपमा रिटायर्ड लाइफ बिताउने बिचारमा छन् । त्यसो त शान्ति, सहिष्णु र आत्मसन्तुष्टिको बाटो रोज्दै विपश्यना मार्गमा अगाडि बढेकै छन् उनी केही वर्ष यता । अब उनको एउटै इच्छा छ, बाँकी उमेर सुख, शान्तिको जिन्दगी बिताउने । उनी भन्छन्, ‘भगवानले जे जति दिएका छन् अब त्यसैमा सन्तुष्ट हुनुपर्छ ।’ प्रफुल्ल मुद्रामा सन्तोषमय ढङ्गबाट सुनाउँछन्, ‘आफूले सम्पूर्ण व्यवसाय छोरीहरूलाई हस्तान्तरण गरिसकेको र त्यहाँ अभिभावकत्व मात्र निर्वाह गरिरहेको छु । मैले छोरीहरूलाई भन्दै आएको छु, मलाई विश्राम देऊ भनेर ।’


आत्मसन्तुष्टि र सुखभोगका लागि शान्तिका दूत बुद्धका अनुयायी बनेका राजकर्णिकारमा विपश्यना ध्यानमा जाने बानी बसेको छ । उनी बुद्धको पदमार्गमा चल्ने कोसिसमा छन् । पहिले बुद्धलाई सामान्य देवताका रूपमा हेर्ने गरेका राजकर्णिकार जब विपश्यना ध्यानमा जान थाले त्यसपछि बुद्ध र बुद्धधर्मबारे उनको धारणा बदलियो । बुद्ध त कुनै देवता नभएर हामीजस्तै मानिस भएको र उनी चाहिँ हिमालय पर्वतजस्तो अग्लो, बौद्धिक पाए । उनलाई लाग्यो, मनुष्य जातिको इतिहासमा बुद्धसँग तुलना गर्ने कुनै मनुष्य नै छैनन् ।


साहित्यले मानिस भित्रको आन्तरिक गौण क्षमतालाई सवल र उन्नतशील बनाएझैं विपश्यना ध्यानले मनमा शान्ति र सुखानुभूति दिन्छ । शुरुमा विपश्यना ध्यान सिक्न जाँदा र त्यहाँ भेज खाना मात्र खाँदा ज्यादै अप्ठ्यारो महसुस गरेका राजकर्णिकारको बानी पछि फेरियो । ७–१० दिनपछि उनमा त्यही भेज खानाले आकर्षण पैदा गर्यो । उनलाई लाग्थ्यो भेज खाना त गरिबले मात्र खाने हो, यसले शरीरमा कुनै तागत दिन सक्दैन । प्राय दिनहुँजसो खानामा मासुको परिकार खाने बानी परेका राजकर्णिकारको लागि पहिलो परीक्षा नै त्यही थियो । पहिलो पटक विपश्यना ध्यानमा सहभागी भएर फर्किएपछि घरमा आएर उनले मासु नखाने घोषणा गरे । घोषणा गर्न त सजिलै भयो त्यसको करिव १ हप्ता पछि राजकर्णिकारलाई घरमा बनाइरहेको चिकेन मःमले मुखमा पानी रसायो । उनले मःमखाने आँट गरे र श्रीमतीलाई आफ्नो कोठामा सुटुक्क मःम ल्याउन भने र खाए पनि । त्यसरी मःम खाएपछि आफ्नो कोठामा राखेको मुसुक्क हाँसेको आफ्नै तस्वीरले गिज्याएझैं लाग्यो । पछि आफैंलाई हीनतावोध भयो । त्यसपछि माछामासु अहिलेसम्मै छोडेको छोड्यै छन् र सायदै अब नखाने प्रण समेत गरेका छन् राजकर्णिकारले ।
उनलाई लाग्छ, जीवन भनेको लेनदेनको कुरा हो । जीवनमा केही पाउन केही गुमाउनुपर्छ । सबैचिज पाइन्छ भन्ने आशा जीवन होइन । पाएका चिज मान्छेले मर्दा लैजाने केही छैन । जे छ त्यसैमा मानिसले सन्तुष्टि लिन जान्नुपर्छ । जीवनलाई यथास्थितिमा समभावले हेर्नुपर्छ । राग र द्वेषमा फस्नुहुन्न ।


त्यसो त उनले अँगालेको विधा नियात्राको उज्ज्वल भविष्य देख्न थालेका राजकर्णिकार नयाँ नयाँ सर्जक र सिर्जना देख्दा खुसीले फुरूङ्ग छन् । उनी नियात्राको भविष्यका बारेमा बहकिन्छन्, ‘अहिले अरु विधाभन्दा नियात्रा विधामा धेरै पाठकहरू बढेका छन् । उत्सुकता बढेको छ । पहिले पनि नियात्राका पाठक थिए तर पुस्तक थिएन । पढ्ने सामग्रीको अभाव थियो र यो कलामा धेरै सर्जक, लेखकहरू लागेका पनि थिएनन् । हाम्रो पालामा भर्जिन विधाको रूपमा रहेको नियात्रामा आज धेरै पाठकहरू र लेखकहरू भएका कारण यो समृद्ध हुँदै जाँदै छ । विश्व भ्रमणको वातावरण आज बनेको छ । खोज अनुसन्धान गर्ने परम्पराको विकास भएको छ र आफ्नो अनुभूतिलाई साझा गर्ने वा वाँड्ने प्रवृत्ति फस्टाउँदो छ । त्यसले पाठक र सर्जक दुवैमा उत्सुकता पैदा गरिदिएको छ । साहित्यका अरु विधामा लागेकाहरू पनि नियात्रा विधातर्फ आकर्षित भइरहेका छन् । त्यसो भएकाले पनि आफू नियात्राकार रहेकाले आनन्दको अनुभूति लिनु सुखद् होइन र ?’


विश्वका करिव दुई दर्जन देश र स्वदेशका विभिन्न ठाउँहरू घुमिसकेका नियात्राकार राजकर्णिकारले केही देशहरूका अनुभूतिलाई नियात्राका रूपमा निखार्न अझ भ्याएकै छैनन्, सायद त्यो दिन आउनै बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *