देश

आफ्नै दुई सांसदले फ्लोर क्रस गर्ने सुइँको पाएपछि पोखरेलद्वारा तुरुन्तै राजीनामा

काठमाडौं । आफ्नै पार्टी एमालेका दुई सांसदले ‘फ्लोर क्रस’ गर्ने सुइँको पाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको रहस्य खुलेको छ । लुम्बिनीमा एमालेकै ४१ सांसद छन् । जुन हाल प्रदेशमा रहेको बहुमत हो ।

प्रदेश सभामा एमालेमा माधव नेपाल पक्षका पनि १० बढी सांसद छन् । त्यसमध्ये दुईजनाले मात्रै फ्लोर क्रस गर्दा पनि पोखरेल पदच्यूत हुने अवस्था छ । सोही कारण हतार हतार बिहानै उनले पदबाट राजीनामा दिएको स्रोतले बतायो ।

जसपा नेता मोहम्मद इस्तियाक राईले खेल अझै बाँकी रहेको बताएका छन् । उनले मुख्यमन्त्रीमा अन्य दलले दाबी गर्ने र आवश्यक संख्या ४१ पुग्ने संकेत गरेका छन् ।

वैशाख ६ गते विपक्षी दलहरूले अविश्वासको प्रस्ताव दर्ता गर्दा पोखरेलले हठात् प्रदेश सभा अधिवेशन अन्त्य गरेका थिए। अब संसदीय जोडघटाउ र सांसद किनबेचका लागि उनले एक महिनाको समय पाउने छन्।

मुख्यमन्त्री पोखरेलको राजीनामालाई आफूमाथि लागेको अविश्वासको प्रस्ताव छल्ने र आफ्नो पार्टीबाट हुने सम्भावित फ्लोर क्रस रोक्ने, पुनः बहुमत प्राप्त दलको हैसियतमा मुख्यमन्त्री बन्ने र एमालेबाहेकको नयाँ सरकार बन्न नदिने चाल भएको विश्लेषण हुन थालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *