देश

लुम्बिनीमा जसपाका चार नेताको न मन्त्री रहने भयो, न सांसद नै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि जसपाका चार नेता अलपत्र परेका छन् । पोखरेलले एक महिनाभित्र एमालेको एकल बहुमतको सरकार बनाउने रणनीतिअनुसार पदबाट राजीनामा दिएपछि उनीहरूको मन्त्री पद त गुम्छ नै, सांसद पद पनि गुमेको छ ।

कारवाहीमा परेका चारजना मन्त्रीहरुले आइतबार सर्वोच्चमा पार्टीको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरेका छन् । जसपा नेपालको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परेका लुम्बिनी प्रदेशका प्रदेशसभा पूर्व सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले संयुक्त रुपमा रिट दर्ता गराउन सर्वोच्च अदालत जान लागेका हुन् । तर, सरकार नै कामचलाउमा परिणत भएपछि के गर्ने भन्नेमा उनीहरू नै अन्योलमा परेका छन् ।

पार्टीको निर्णयविपरीत चारैजना सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन जनाएका थिए । समर्थन जनाउँदै उनीहरु मन्त्रिमण्डलमा समेत सहभागी बनेका थिए । पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद जानुको साथै मन्त्री पद पनि गुमेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *